तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले घर तथा भवन निर्माणमा जनतालाई नक्सा निःशुल्क गर्ने भएको छ । गाउँपालिकाले आगामी असोज १ गतेदेखि लागू हुने गरी नयाँ बन्ने निजी घर तथा भवनको नक्सामा निःशुल्क गर्न लागेको हो ।
सेवाग्राहीले प्रस्तावित नक्साको लागि बाहिर निजी कन्सल्टेन्सीलाई न्यूनतम तिर्नुपर्ने रु आठदेखि १० हजारसम्मको रकम तिर्नुनपर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
पालिकाले तीन तलासम्मको लागि गाउँपालिकाले नै नक्सा बनाइदिने तथा नक्सा पासका लागि भने राजस्व तिर्नुपर्ने व्यवस्था गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
भवन ऐन २०५५ को दफा ८ (ग) अनुसारको (ग) वर्गका भवनहरु भुई तलाको क्षेत्रफल एक हजार वर्गफिटसम्म र उचाइ तीन तलासम्म वा ‘स्ट्रक्चलरल स्पान’ ४.५ मिटरभन्दा कम भएका भवनको हकमा लागू हुने जनाइएको छ ।
पहिलो चरणमा भुई तलाको क्षेत्रफल एक हजार वर्गफिटसम्म र उचाइ तीन तलासम्म वा ‘स्ट्रक्चलरल स्पान’ ४.५ मिटरभन्दा कम भएका भवनको नक्सा निःशुल्क गरिएको छ ।
नक्सा पास नगरी बनाइएका घर तथा भवनमा भने यस्तो सेवा लागू नहुने गाउँपालिका कार्यालयले जनाएको छ ।












