काठामाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका छन् ।
बिहीबाार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दे उनले तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका हुन् ।
“हामीले प्रधानमन्त्रीहरुले भन्ने गरेको सुनेका छौँ– म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड टाँग्ने अनि त्यो साइनबोर्डभित्र भ्रष्टाचार बाहेक अरु केही गर्दै नगर्ने । के कारणले यो भइरहेको छ, यो व्यक्तिको मात्रै दोष हो कि, प्रणालीमा कतै खोट छ भन्ने कुरा सबैले विचार गर्नुपर्छ,” प्रचण्डले भने, “प्राणालीमा सुधार गर्न आवश्यक छ । यस्तो प्रणाली जसले भ्रष्टाचार गर्नेलाई ठाउँ नदिओस् ।”
भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ ? भन्ने बारेमा विचार गर्न आवश्यक रहेको पनि प्रचण्डले बताए । उनले भ्रष्टाचारीलाई कारबाही गरी भ्रष्टाचार गर्नेलाई स्थान नदिने शासन प्रणालीको विकास हुन जरुरी रहेको पनि बताए ।
निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधारेर अहिलेको विकृति, विसंगतिलाई सुधार्न सकिने बताउँदै उनले प्रचण्ड अस्थिरताको कारक हो भन्ने मानिसको कमी नरहेको र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्ने कुरा पनि केही मानिसहरुले गर्ने गरेको बताए । उनले माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरुलाई चैनमा बस्न नदिने जिकिर गरे ।
राजनीतिक दल र उद्योगीहरुमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने जिम्मेवारी रहेको भन्दै प्रचण्डले देश गम्भीर आर्थिक शंकटमा रहेको कुरा देश हरेक कुरामा परनिर्भरतामा रहनुले पुष्टि हुने बताए । उनले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने काममा आर्थिक क्षेत्र अघि बढ्नुपर्छ भन्ने गरिए पनि अहिलेसम्म उल्लेख्य प्रगति हुन नसकेको गुनासो गरे ।
देश आत्मनिर्भरता र सबलताको दृष्टिकोणले झनै कमजोर बनिरहेको उल्लेख गर्दै उनले नेपालको अर्थतन्त्रलाई उकासेर अघि बढ्न जरुरी रहेको बताए । भने, “परनिर्भरताको स्थिति भयानक छ । हाम्रो यस क्षेत्रमा राम्रो दक्षता हासिल गर्नुभएको कुरा राख्नुभएको छ, हामीले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने काममा हाम्रो आर्थिक क्षेत्र अघि बढ्नुपर्छ भन्ने गरिन्छ । तर अपेक्षित प्रगति भइरहेको छैन ।”












