२०८१, ६ जेठ आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आत्महत्या रोकथाम गर्ने प्रहरीको योजना : ‘आशा जगाऔँ, जीवन बचाऔँ’

पाँच बर्षमा ४ सयले गरे आत्महत्या !



ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आत्महत्या रोकथामका लागि सचेतनामुलक कार्यक्रम गरेको छ । जिल्लामा बढ्दो रुपमा रहेको आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि प्रहरीले सचेतनामुलक र्‍याली  निकालेको हो ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा भाद्र २५ गते तय भएको कार्यक्रम आइतबार गरिएको छ । बेलायती महारानी एलिजाबेथ द्वितियको निधनमा नेपालले तीन दिन शोक मनाएकोले गत (शनिवार) स्थगित भएको कार्यक्रम आइतबार सञ्चालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कार्यालय ओखलढुंगा र सिद्धिचरण नगरपालिकाको आयोजना तथा ओखलढुंगा सामुदयिक अस्पतालको समन्वयमा भएको कार्यक्रममा आत्महत्या रोकथामबारे सचेतनामुलक प्ले कार्ड बोकेर सहभागीहरुले बजार परिक्रम गरिएको थियो ।

कार्यक्रममा प्रहरी कर्मचारीले आत्महत्या रोकथामबारे स्थानीयलाई सन्देशमुलक पर्चा समेत वितरण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगा परिसरबाट सुरु भएको र्‍याली रामबजार, भैरवटोल, गणेशटोल हुँदै ऐतिहासिक ओखलढुंगा भएको ठाउँमा गएर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जिल्लामा आत्महत्यादर विकराल रुपले बढेकोले रोकथामका लागि प्रहरी र सम्बन्धित निकाय मात्र नभएर सबैको अथक प्रयास आवस्यक रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख (प्रहरी नायव उपरीक्षक) सुकदेव खनालले जिल्लामा गत ५ बर्षको अवधिमा ४ सयले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गरेका थिए । जसमा सबैभन्दा बढी २०७७/७८ मा ६३ जनाले आत्महत्या गरेको पाइएको छ ।

गत ५ बर्षको अवधिमा जिल्ला गरिखाने उमेर समुह अर्थात १८ बर्ष देखि ५९ बर्षसम्म २९५ जनाले आत्महत्या गरेको डिएस्पी खनालले बताए ।

प्रहरीले आत्महत्या न्यूनिकरणका लागि निरन्तर सचेतनाका कार्यक्रम गर्ने र जिल्लामा आत्महत्या रोकथाम गर्ने लक्ष लिएको उनको भनाई थियो । जिल्लाका स्थानीय तहले आत्महत्या न्यूनिकरणमा प्रभावकारी कार्यक्रम गर्नुपर्नेमा डिएस्पी खनालले जोड दिएका छन् ।

कार्यक्रममा सिद्धिचरण नगरपालिका उपप्रमुख केदारबाबु बस्नेतले पनि आत्महत्या न्यूनिकरणका लागि नगरपालिकाले प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।

ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक डा. रोशन खरेलले अस्पतालले जिल्लामा मानसिक रोग र आत्महत्या न्यूनिकरण लक्ष लिएर निःशुल्क रुपमा उपचार सेवा प्रदान भइरहेको जानकारी गराएका थिए । आत्मत्या रोकथामकै लागि जिल्लाका स्वास्थ्यकर्मीहरुलाई मनोसामाजिक सहयोग सम्बन्धि तालिम दिने कार्यक्रम भइरहेको बताए ।

कार्यक्रममा वरिष्ठ मनोरोग विशेषज्ञ प्रोफेसर डाक्टर विद्यादेव शर्माले आत्महत्या गर्नुपुर्व नै आत्महत्याको तयारीमा रहेको व्यक्तिले संकेतहरु दिने भएकाले ति संकेतलाई वेवास्ता गर्न नहुँने बताएका थिए ।

र्‍याली र कोणसभा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिलकमार तामाङ, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनाल सहित सुरक्षा निकायका प्रमुख प्रतिनिधि, सिद्धिचरण नगरपालिका उपप्रमुख केदारबाबु बस्नेत, सरकारी कार्यालय, विभिन्न संघ सस्थाका प्रमुख प्रतिनिधि, विद्यार्थी, पत्रकार लगायत सरोकारवालको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७९, २ आश्विन आइतबार ००:००  १२ : ४७ बजे