२०८१, २० बैशाख बिहीबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेतृत्वसँग नजिकिँदै यज्ञराज : ओखलढुंगामा चौथो पटक सांसदको उम्मेद्वार बन्ने दौड

तत्कालिन एमालेमा माधव नेपाल खेमाका सुनुवार केपी ओली र ईश्वर पोखरेलसँग निकट नहुँदा मन्त्री बन्ने लिस्टमा नपरेको बताइन्थ्यो



काठमाडौं । नेकपा एमालेका नेता यज्ञराज सुनुवार चौथो पटक सांसदको उम्मेद्वार बन्ने दौडमा छन् । २०६४ सालमा पहिलो पटक सांसदको उम्मेद्वार बनेका सुनुवारले २०७० मा कांग्रेसका बालकृष्ण दाहाल र २०७४ मा कांग्रेसकै रामहरि खतिवडालाई हराएर चुनाव जितेका थिए । उनी फेरि आगामी मंसिर ४ गते हुने निर्वाचनमा ओखलढुंगाबाट संघिय सांसदका आकांक्षी हुन् ।

तत्कालिन नेकपा र एमाले विभाजन हुनुपूर्व माधव नेपाल खेमाका सुनुवारले अहिले अध्यक्ष केपी ओलीसँगको दुरि घटाएका छन् । विद्यार्थी राजनीतिबाट उदाएका सुनुवार एमालेभित्र पहिल्यै देखि माधव नेपाल पक्षमा थिए ।

अध्यक्ष ओलीले प्रधानमन्त्रीको निरन्तरताका लागि संसदमा विश्वासको मत माग्दा सुनुवारले मतदान गरेका थिएनन् । संसद विघटनपछि पुनर्वहालीको माग गर्दै अदालतमा हस्ताक्षर गर्न पुगेका थिए । पार्टी अध्यक्ष ओलीको कदम असंवैधानीक भन्दै सुनुवारकै नेतृत्वमा ओखलढुंगामा कोणसभाहरु सञ्चालन भएका थिए । भने केन्द्रमा हुने संसद विघटन विरुद्धका अभियानहरुमा उनी सकृय सहभागी थिए ।

संसद विघटनपछि नेकपा कालिन अवस्थामा ओली विरुद्ध उभिएका सुनुवार अदालतले एमाले व्यूँताएपछि एमालेकै बसेका हुन् । माधव नेपालले एमाले फुटाएर नेकपा एकिकृत समाजवादी गठन गरेपछि सुनुवारले नेपालको साथ छाडेर ओलीको नेतृत्व स्विकारेका थिए । पार्टीको दशौं महाधिवेशनबाट सुनुवार पुनः केन्द्रीय सदस्य निर्वाचित भए ।

वर्तमान सांसद तथा पार्टी केन्द्रीय सदस्यसमेत रहेका सुनुवार यतिबेला सम्बन्ध सुधारमा सकृय छन् । नेकपा कालिन अवस्थामा माओवादी कार्यकर्ता बीच पनि लोकप्रिय बनेका सुनुवार पार्टी भित्रको आन्तरिक समस्या ताका एमालेभित्रै भने आलोचित थिए । नेकपा भित्रको आन्तरिक किचलोका बेला उनले गृह जिल्ला ओखलढुंगामा ओली पक्षका केन्द्रीय सदस्य माधव–प्रचण्ड पक्षका वडाकमिटी सदस्यको हैसियतका समेत नरहेका भनेर दिएको अभिव्यक्तिले निकै चर्चा पाएको थियो । अहिले जिल्ला देखि केन्द्रसम्म सुनुवारले सम्बन्ध सुधार गरिरहेका छन् ।

सुनुवार यतिबेला अध्यक्ष ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पनि नजिक छन् । ओखलढुंगामै जन्मिएका पोखरेल जिल्लाको संसादका लागि हुने टिकट वितरणमा पार्टीभित्र निर्णायक मानिन्छन् ।

विगतमा नेपाली कांग्रेसको गढ मानिने ओखलढुंगामा एमालेबाट २ वटक चुनाव जितेका सुनुवार अध्यक्ष ओली र नेता पोखरेलसँग निकट नहुँदा मन्त्री बन्न नसकेको बताइन्थो । केही समय यता ओली र पोखरेलसँग नजिक बनेका सुनुवारले यस पटक पनि संघिय सांसदको टिकट लिएर चौथो पटक ओखलढुंगामा सांसदको उम्मेदवार बन्ने तयारीमा छन् ।

कुनैबेला पार्टीभित्र ओलीको कट्टर आलोचक मानिने सुनुवार अहिले समकालिन राजनीतिमा ओलीजति दृढ शक्ति भएको अर्को नेता नभएको बताउँछन् ।

आफुले टिकट पाए जित्ने र पार्टीले अर्को नेतालाई उम्मेदवार बनाए जिताउने गरि चुनावी तयारीमा लागेको सुनुवारले बताए । ‘ओखलढुंगामा फेरि पनि एमालेले नै चुनाव जित्छ । साथीहरुले टिकट पाउँदा म पूर्णरुपमा सहयोग गर्छु र मैले टिकट ल्याउँदा पनि सबैको साथ पाउँछु ।’ उनले भने, ‘एमालेले ओखलढुंगाको विकासका लागि गरेको योगदान जनताले बुझेका छन् । फेरि पनि ओखलढुंगा जिल्ला एमालेकै किल्लाका रुपमा राख्छौं ।’ एमालेका नेताहरुले गरेको विकास र पार्टीको पक्षमा रहेको जनमत नै चुनाव जित्ने आधार रहेको बताए ।

ओखलढुंगा एमालेबाट सुनुवारसहित प्रदेश १ का पूर्वमन्त्री अम्बिरबाबु गुरुङ र केन्द्रीय सदस्य किशोर अधिकारीको नाम पनि सिफारिस भएको छ ।

दावेदार ३ नेता मध्ये गुरुङ र सुनुवार बलिया उम्मेदवार मानिन्छन् ।

सुनुवार ओखलढुंगाका समकालिन नेताहरुमा सुशल संगठक हुन् भने गुरुङ जिल्लामा विकासप्रेमी नेताका रुपमा परिचित छन् ।

एकजुट भएर चुनावमा जाँदा ओखलढुंगामा चुनाव जित्न सकिने एमालेको आंकलन छ ।

प्रकाशित मिति : २०७९, ३ आश्विन सोमबार ००:००  २ : ५५ बजे