२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा थप एक जनामा कोरोना संक्रमण पुष्टि



ओखलढुंगा । ओखलढुंगामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका ५ मुलखर्कका एक २४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए । यो सहित जिल्लामा संक्रमितको संख्या ६ पुगेको छ ।

जिल्लाबाट विभिन्न २१ जनाको पिसिआर परीक्षणका लागि पठाईएकोमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको उनको भनाई छ । संक्रमण देखिएका युवा केही दिन अघि साउदीबाट नेपाल फर्किएर क्वारेन्टाइनमा बसेका थिए । सदरमुकाम स्थित ओखलढुंगा क्याम्पसको क्वारेन्टाइनमा रहेका उनमा कोरोना संक्रमण देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी भईरहेको छ ।

सुनकोशी गाउँपालिका ५ का वडा अध्यक्ष गोविन्दराम तामाङले मुलखर्क ठेगाना भएपनि विदेशबाट लकडाउनको समयमा उद्धार गरेर ल्याईएका ति युवा गाउँ पुगिनसकेको बताए । सुनकोशी गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले होल्डीङ सेन्टर हुँदै क्वारेन्टाइनमा बसेकाले उनमा देखिएको संक्रमणले गाउँमा त्रसित हुनुपर्ने अवस्था नरहेको बताए । सतर्कता अपनाउन भने अध्यक्ष अधिकारीले सबैमा आग्रह गरेका छन् ।

जिल्लाका संक्रमित मध्ये १ युवा निको भएर घर फर्किसकेका छन् भने ३ जना ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत छन् । अर्का एक ७२ वर्षिय पुरुषलाई भने लिखु गाउँपालिका स्थित उनकै घरमा राखिएको छ । यसअघि लिखु गाउँपालिकामा मात्रै कोरोनाको संक्रमण देखिएको थियो । सुनकोशी र लिखु बाहेकका अन्य स्थानीय तहमा अहिले सम्म संक्रमित भेटिएका छैनन् ।

प्रकाशित मिति : २०७७, ३० असार मंगलबार ००:००  १२ : १० बजे