काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डा.राजन भट्टराईले आफ्ना प्रतिस्पर्धी कांग्रेस महामन्त्री गगन थापाले एमालेले गरेका विकासका कामलाई आफूले गरेको भनेर भ्रम र्छन खोजेको आरोप लगाएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई चाबहिल मित्रपार्कमा सम्बोधन गर्दै गगनसँग दोस्रोपटक चुनावी प्रतिस्पर्धा गर्न लागेका भट्टराई एमाले नेतृत्वमा भएका कामलाई आफूले गरेको भनेर भिडिओ बनाएको भन्दै गगनको आलोचना गरे ।
भट्टराईले भने–गगन थापा भिडिओहरु बनाएर कमलपोखरी मैले बनाएको भन्दै हुनुहँदो रहेछ । कमल पोखरी बनाउनु हुन्न भनेर तत्कालीन मेयर विद्यासुन्दर शाक्यलाई चिठी लेख्नै तपाई होइन ? उहाँले लेखेको त्यो चिठी अहिले पनि हामीसँग छ । आज विद्यासुन्दर नेतृत्वको महानगरले बनाएको कमलपोखरीको भिडिओ राखेर मैले बनाएको भन्न लाज लाग्दैन ?
डा.भट्टराईले आफू प्रधानमन्त्रीको सल्लाहकार हुँदा कपन लगायत काठमाडौं ४ मा लगेका योजनाहरुको फोटो र भिडिओ बनाएर गगनले आफूले गरेको भन्ने भ्रम फैलाउन खोजेको आरोप समेत लगाए ।
उनले भने–साततलेबाट तेन्जिङचोक हुँदै कपन खरिबोटको कालोपत्रे सडक बनाउन कति ठाउँमा दौडधूप भयो,यसको साक्षी वडाध्यक्ष शम्भु भट्टराई यहिँ हुनुहुन्छ । आज गगनजी त्यो सडक पिच पनि मैले गरेको भन्दै भिडिओ प्रचार गर्दै हुनुहुन्छ । यस्ता भ्रम बाहिरका मान्छेले पत्याउलान् तर कपनका र यो क्षेत्रका मान्छेले पत्याउँदैनन् ।
भट्टराईले गगन थापा गफमात्र गर्ने र काम केही नगर्ने जनप्रतिनिधिको रुपमा काठमाडौं ४ का जनताले चिनेको भन्दै आफू चुनाव हारेपछि अझ बढी सक्रिय भएर ५ वर्षको बीचमा मेलम्ची खानेपानी आयोजना लगायत ठूला आयोजना कपन र काठमाडौं ४ का बस्तिमा पुर्याउन पहल गरेको बताए ।