२०८१, ८ मंसिर शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जित नजिक ‘जिवी’

बाबुरामलाई कांग्रेसको भर, जिवीलाई छैन एमालेभित्र अन्तरघातको डर



ओखलढुंगा । ओखलढुंगा प्रदेशसभा ‘ख’ मा एमालेका उम्मेदवार ज्ञानबहादुर खड्का जिवीले आफु जित नजिक रहेको बताएका छन् । चुनावी प्रचारप्रसारका कार्यक्रम सुरु नहुँदै माहोल उनको पक्षमा रहेको दावी गरेका हुन् । 

एमाले एक ढिक्का हुनु र गठबन्धनबाट कांग्रेसको उम्मेदवार नभइ माओवादीको उम्मेदवार बन्नुले खड्का सहज जित निकाल्ने दाउमा छन् ।

यो क्षेत्रमा एमालेको बलियो उपस्थिती छ । यद्यपी निर्वाचन क्षेत्रका ४ वटै स्थानीय तहका प्रमुख कांग्रेसले जितेको छ । स्थानीय निर्वाचनमा मानेभञ्ज्याङमा स्वतन्त्रलाई कांग्रेसको समर्थन थियो । त्यहाँ अध्यक्ष स्वतन्त्र र उपाध्यक्ष कांग्रेसले जितेको थियो । एमाले केन्द्रीय सदस्य किशोर अधिकारीको गृह पालिका मानेभञ्ज्याङमा विगतको भन्दा एमालेको संगठन बलियो बनेको छ । संगठन नै नभएको मोली एमालेमय बनेको छ भने उँबुमा स्थानीय निर्वाचनमै एमालेले जितेको छ । अन्य वडामा कांग्रेससँग एमालेको हाराहारी मत छ ।

स्थानीय निर्वाचनमा सुनकोशीमा अध्यक्ष उपाध्यक्ष दुवै कांग्रेसले जितेको छ तर वडामा एमाले बराबरीमा छ । १० वटा वडामध्ये एमालेले ५ र कांग्रेसले ५ वटा वडा जितेको छ । स्थानीय चुनावबाट कांग्रेसले नेतृत्व गरेपनि यो जिवी खड्काको गृह पालिका हो । यहाँ उनेको पक्कड छ । यो क्षेत्र उनी २०७४ को निर्वाचनमै उम्मेदवार भएर चुनाव लडेको ठाउँ पनि हो । कांग्रेसको उम्मेदवार नभएकाले सुनकोशीको अधिक भोट आफुलाई आउने खड्काको आँकलन छ ।

चम्पादेवी अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जितेको ठाउँ हो । चम्पादेवीमा विगतको भन्दा एमालेको उपस्थिती बाक्लो छ । जिवी खड्कालाई प्रदेश सांसद बनाउन उम्मेदवार प्रस्ताव गर्ने चम्पादेवी एमाले पालिका कमिटी गठबन्धनको भन्दा बढी भोट दिने तयारीमा छ ।

लिखु एमालेको गढ हो । स्थानीय निर्वाचनमा एमालेका उम्मेदवार विरुद्ध मुद्दा परेपछि अध्यक्ष पद कांग्रेसले जितेको छ । अधिकांश वडा र उपाध्यक्षमा एमालेले जितेको छ ।

यसक्षेत्रका एमालेका प्रभावशाली नेताहरुले एक भएर एमाले जिताउने अभियानमा लाग्ने प्रण गरेका छन् ।

एमालेका नानीबाबु बुढाथोकी टिकटका दावेदार थिए । टिकट नपाएपछि उनको पक्षका मत तान्ने कांग्रेस–माओवादी गठबन्धनको रणनीति थियो । तर बुढाथोकीले आफु निकट सबै नेता कार्यकर्तालाई एमालेको पक्षमा उभिन र पार्टीका उम्मेदवारलाई जिताउन लाग्न अपिल गरिसकेका छन् ।

खड्काले ५ वर्षभित्र आफ्नो क्षेत्रलाई विकसित निर्वाचन क्षेत्रका रुपमा स्थापित गर्ने योजना अघि सारेका छन् ।

यस्ता छन् जिवी खड्काका चुनावी ऐजेण्डा (हेर्नुहोस् भिडियो अन्तरवार्ता)

https://www.youtube.com/watch?v=lwsFEV5qPEM

४ वटै पालिकाका जम्मा २ वटा मात्रै वडा जितेको माओवादीका बाबुराम गौतम गठबन्धनका उम्मेदवार छन् । उनी राजनितीमा लामो समय देखि सकृय भएपनि आफ्नो पार्टीको चुनाव जित्न पुग्ने भोट छैन । उनलाई चुनाव जित्न सबै कांग्रेसका नेता कार्यकर्ताले मतदान गर्नुपर्ने अवस्था छ । द्धोन्द्धकालिन घटनाका माओवादी पीडित परिवार र असन्तुष्ट कांग्रेसलाई मिलाउन उनलाई चुनौती छ ।

एमाले भित्रको असन्तुष्टिलाई उनले क्याँस गर्नसक्ने परिस्थिती छैन । अझ टिकट खोसिएका कांग्रेस नेताले समेत गठबन्धनलाई साथ नदिने सम्भावना छ ।

हार वा जित चुनावी मतपरिणाम आएपछि यकिन हुनेभएपनि अहिलेको माहोल भने जिवी खड्काको पक्षमा देखिएकाे एमाले नेता सन्ताेष बस्नेतले बताए ।

एमाले यो क्षेत्रमा पहिलो पटक जितेर इतिहास रच्ने योजनामा छ ।

२०६४ मा माओवादीका तत्कालिन नेता बालकृष्ण ढुंगेलले जितेर कम्युनिष्टको विजयी सुरुवात गरेको यो क्षेत्रमा २०७० मा कांग्रेसका रामहरि खतिवडाले जितेका थिए । २०७४ मा वामगठबन्धनका मोहन खड्का निर्वाचित भएका थिए । यो पटक जिवी खड्काले जिते पहिलोपटक एमालेले जित्ने छ । बाबुराम गौतमले जिते माओवादीको जित तेस्रो पटक हुनेछ ।

प्रकाशित मिति : २०७९, २ कार्तिक बुधबार ००:००  १० : ०५ बजे