काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ । बुधबार रौतहटका ३६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
उनको असार ३१ गते दिउँसो साढे २ बजे उपचारका क्रममा निधन भएको जनाइएको छ । उनका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको थियो ।
उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टिनमा राखिएको थियो । त्यस क्रममा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि ती युवकलाई असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।