ओखलढुंगा । पूर्वमन्त्री तथा प्रदेशसभाका निवर्तमान सांसद अम्बिरबाबु गुरुङले ५ वर्षमा ओखलढुंगामा १० अर्ब बजेट ल्याएका छन् । २०७४ मंसिरमा सम्पन्न निर्वाचनबाट प्रदेशसभामा निर्वाचित गुरुङले आफ्नो ५ वर्षे कार्यकालमा जिल्लामा विभिन्न विकासका आयोजनाका लागि १० अर्ब बजेट जिल्लामा ल्याउन सफल भएका हुन् ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री समेत भएका गुरुङले पूर्वाधार विकासका क्षेत्रमा जिल्लामा हालसम्म सबैभन्दा बढी बजेट ल्याएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रभित्रका सबै वडालाई कालोपत्रेसहितको उच्चस्तरिय रिङरोडले जोड्ने महत्वकांक्षी योजनाबाट काम सुरु गरेका गुरुङले पूर्वाधार विकास, खानेपानी, सिंचाई, सहरी विकास तथा आवास, पर्यटन तथा खेलकुद र विद्युतीकरण लगायतका शिर्षकमा जिल्लामा बजेट ल्याएका छन् ।
सडक पूर्वाधार विकास अन्तरगत सडक निर्माण र मोटरेवल पुल तर्फ २८ वटा योजनाका लागि ६ अर्ब ८० करोड ४ लाख ५० हजार बजेट आएको छ । झोलुङगे पुल तर्फ जिल्ला भरी १५ वटा योजना पूर्वमन्त्री गुरुङले अघि सारेका छन् । त्यसका लागि १८ करोड बजेट ल्याएको थियो । अधिकांश पुल निर्माणको चरणमा छन् ।
सहरी विकास तथा आवास तर्फ ६१ करोड १० लाख बजेट ल्याइएको छ । उक्त बजेटबाट जिल्लाका विभिन्न ठाउँमा एकिकृत बस्ति विकास तथा भवन निर्माण र ढल निर्माणका काम भईरहेका छन् ।
पूर्वमन्त्री गुरुङले जनता आवास कार्यक्रम मार्फत निर्वाचन क्षेत्र नं. १ अन्र्तगत सिद्धिचरण नगरपालिका, चिशंखुगढी, मानेभन्ज्याङ्ग र खिजिदेम्बा गाउँपालिकामा १९१ वटा घरवार विहिन गरिब जनताका घर निर्माण गरिदिएका छन् ।
गुरुङको कार्यकालमा खानेपानी तथा सिंचाईका ४६ वटा योजना सञ्चालन भएका छन् । ति योजना सञ्चालनका लागि ५३ करोड ५४ लाख बजेट आएको छ । सुख्खाग्रस्त क्षेत्रमा सिंचाइको माग भए अनुसार निर्वाचन क्षेत्रका सबै पालिकामा सिंचाइ र खानेपानीका आयोजना गुरुङले पु¥याएका छन् ।
पर्यटन तथा खेलकुदको शिर्षकमा गुरुङले जिल्लामा ११ करोड ५७ लाख बजेट ल्याएका छन् । जिल्लाका मुख्य पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासका काम भईरहेका छन् ।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर ठेक्का प्रकृयामा ५ वर्षको अवधिमा ८ अर्ब २३ करोड ७३ लाख ५० हजार बजेटको भौतिक पूर्वाधार निर्माणका काम भएका छन् । अधिकांश आयोजना निर्माणाधिन अवस्थामा छन् ।
संघ सरकार र विद्युत प्राधिकरणको समन्वयमा जिल्लामा विद्युतीकरणको लागि गुरुङको कार्यकालमा डेढ अर्व बजेट जिल्ला आएको छ । ठेक्का प्रकृया मार्फत विद्यतिकरण मार्फत काम सुरु हुने चरणमा छ ।
गुरुङले संसद् विकास कोष मार्फत निर्वाचन क्षेत्रका ४ वटै स्थानीय तहमा ५ करोडको काम गरेका छन् ।
सामुदायिक विद्यालयमा प्रदेश सरकार मार्फत विद्यालय एक नर्स कार्यक्रम सहितका योजना ल्याएका छन् भने जिल्लाका स्वास्थ्य संस्थाका भवन पूननिर्माणमा सहयोग गरेका छन् ।
खेल क्षेत्रको विकासका लागि गुरुङले योगदान तथा खेलाडीलाई प्रोत्साहन गरेका छन् ।
गुरुङले व्यक्तिगत खर्चमा विभिन्न विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
जिल्लामा गरिब तथा विपन्न परिवारका लागि स्वास्थ्य उपचारमा सहयोग गरेका छन् ।
दुर्घटनामा परेका र अशक्त बीरामीलाई हेलिकोप्टरबाट उद्धार गरि उपचारमा निरन्तर सहयोग गर्दै आएका छन् ।
सांसद नहुँदै पनि सामाजिक क्षेत्रमा सकृय गुरुङ जनप्रतिनिधिभएपछि निरन्तर सेवामा समर्पित छन् ।
जिल्लामा यातायात कार्यालय स्थापना, मनमोहन विश्व विद्यालयको आंगिक क्याम्पस स्थापनाका लागि प्रकृया थालनी र एयरएम्बुलेन्स, अक्सिजन प्लान्ट स्थापना लगायतका काम गुरुङको पहलमा भएका छन् ।
अधुराकाम पुरा गर्छु र पुस्ताहस्तान्तरण गर्छु : गुरुङ
मंसिर ४ गते हुने निर्वाचनका लागि गुरुङ प्रदेशसभा सदस्यमा एमालेबाट पुनः उम्मेदवार बनेका छन् । आफुले ५ वर्षको अवधिमा थालेका काम सम्पन्न गर्न र जिल्लामा कृषि आधुनिकिकरण, युवा स्वरोजगार लगायतका सवालमा काम गर्ने मुद्दा बोकेर गुरुङ चुनावी मैदानमा होम्मिएका छन् । जनताले देख्नेगरी काम गरेकाले आफुले निर्वाचन जित्ने उनको तर्क छ । ‘इतिहासमा कहिल्यै यत्तिको विकास बजेट हाम्रो जिल्लामा आएको थिएन । त्यति धेरै बजेट ल्याएँ । जनताले देख्नेगरि विकासका कामहरु भएका छन् । यि सबै काम सम्पन्न हुँदा जिल्ला समृद्ध बन्छ थालेका कामलाई पूर्णता दिनुपर्ने दायित्व मेरै हो ।’ उनले भने, ‘मेरा विरोधीहरुले विकास सिस्टमले हुने कुरा हो पनि भन्छन् त्यसो भए म माननीय हुनुअघि किन भएन ? अरु निर्वाचन क्षेत्रमा हेरौं कति काम भयो ? फेरि पनि यो भन्दा धेरै काम गर्ने सहास र संयन्त्र बोकेर जनताको बीचमा आएको छु ।’ १ कार्यकाल काम गरेर अर्को चुनावमा पुस्ता हस्तान्तरण गर्ने गुरुङले बताएका छन् ।
डिपिआर बनाएर योजना अघि बढाएका गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी बजेट लगेको भनेर प्रदेशसभामा सांसदहरुले आवाज उठाएका थिए ।
हेर्नुहोस् बजेट विवरण :