काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर ४ पछि आफु देशको प्रधानमन्त्री बन्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार थापाले आगामीबाट लोकप्रिय मत ल्याएर चुनाव जित्ने र चुनाव पछि आफु प्रधानमन्त्री हुने बताएका हुन् ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा चुनावी भेलालाई सम्बोधन गर्दै थापाले विगतका कमजोरीबाट पाठ सिकेर नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताए ।
कांग्रेसको सरकार बन्दा शेरबहादुर देउवा नभई अब युवाले अवसर पाउनुपर्ने थापाले बताए । उनले देशभर गठबन्धनले बहुमतले चुनाव जित्ने दाबी समेत गरे ।
कपनका हरेक सडक निर्माणमा आफुले योगदान गरेको र बाँकी रहेका काम चुनाव जितेपछि अघि बढाउने बताए । निर्वाचन जितेपछि बुनपा ८ वटै वडामा प्रदेश कार्यलय स्थापना गरेर पूर्वाधार विकासका काम गर्ने योजना सुनाए ।
यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य गठबन्धनका साझा उम्मेदवार कुसुमकुमार कार्कीले आगामी निर्वाचनमा जनताको मत सहित आफुहरु सरकारमा पुग्ने बताए । विकास निर्माणमा आफुहरुले जनताले देख्ने गरि काम गरेकाले फेरि पनि निर्वाचित हुने उनको भनाई थियो ।