२०८१, ७ बैशाख शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन महिनादेखि बन्द हेटौंडा सिमेन्टको उत्पादन सुरु



हेटौंडा । रोकिएको हेटौंडा सिमेन्टको उत्पादन फेरि सुरु भएको छ ।

आर्थिक समस्याका कारण कोइलाको आपूर्ति नहुँदा तीन महिनादेखि उत्पादन बन्द थियो ।

कोइला विक्रेतासँग अनुरोध गरेर केहि समयलाई कोइलाको व्यवस्थापन गरि उद्योग सञ्चालनमा ल्याइएको महाप्रबन्धक बसन्तकुमार पाण्डेले बताए । कोइला सप्लाईका लागि बोलपत्र आह्वान गरिसकिएको उनले जानकारी दिए । भारत, भुटान, इन्डोनेसियालगायत देशबाट कोइला आउन थालेपछि उत्पादन सहज हुने उनको भनाइ छ ।

‘उद्योगमा आर्थिक समस्या त छँदैछ । त्यसैकारण पनि कोइलाको व्यवस्थापनमा हामीलाई समय लाग्यो । केहि मेसिन मर्मत गर्नुपर्ने पनि थियो । हामीले यी समस्याहरु समाधान गरिसकेका छौं । अब उद्योग निरन्तर चल्छ’, महाप्रबन्धक पाण्डेले बताए ।
उत्पादन लागत भन्दा कममा घाटा खाएर सिमेन्ट बेच्नुपर्दा उद्योग सञ्चालन गर्न कठिनाई भएको उनले बताए । ‘सिमेन्ट बिक्रीबाट भएको आम्दानीले उद्योगको खर्च धान्न सक्ने अवस्था छैन । एक बोरा सिमेन्ट ९ सय रुपैयाँमा उत्पादन गरेर ७ सय ४७ रुपैयाँमा बेच्दा उद्योगलाई कसरी नाफामा लैजान सकिन्छ रु’, उनले भने, ‘उद्योगमा आइरहने यसखालको समस्या अन्त्य गर्न र नियमित सञ्चालनका लागि सरकारकै पहल आवश्यक छ ।’

उद्योगलाई नियमित र नाफामा सञ्चालन गर्न नयाँ प्रविधिमा जानुपर्ने महाप्रबन्धक पाण्डेले बताए । जसका लागि उद्योगले गरेको प्रारम्भिक अध्ययनबाट प्लान्ट मर्मतका लागि ८० करोडदेखि १ अर्ब रुपैयाँ र नयाँ प्लान्ट निर्माणका लागि ५ देखि ८ अर्ब रुपैयाँ रकम लाग्ने उनले जानकारी दिए । मर्मत खर्चका लागि उद्योगले आफ्नो स्वामित्वमा रहेको जग्गा बेच्न सरकारसँँग अनुमति मागेको छ । नेपाल राष्ट्र बैंकले उद्योगको जग्गा खरिद गर्न चासो देखाएकोले सरकारले जग्गा बेच्न अनुमति दिनुपर्ने उनले बताए ।

४० वर्षअघि स्थापना भएको उद्योगमा हाल २ सय १८ जना कर्मचारी छन् । उद्योग सञ्चालन भएको अवस्थामा दैनिक १० देखि १४ हजार बोरा सिमेन्ट उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति : २०७९, १६ कार्तिक बुधबार ००:००  १२ : ३८ बजे