काठमाडौं। काठमाडौं महानगरपालिकाले वडा स्तरीय महिला सञ्जाल गठन गरेको छ।
बुधबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले लैङ्गिक विषयसँग सम्बन्धित समस्या वडास्तरमै समाधान गर्न वडा स्तरीय महिला सञ्जाल गठन गरेको बताइन्।
उनका अनुसार न्याय वितरण प्रणालीलाई वडा स्तरमा छिटो, सरल र सहज बनाउने संस्थागत संयन्त्र निर्माण गरिएको हो।
‘महिला सञ्जाल निर्माणले महिलालाई नेतृत्वदायी ठाउँमा लगेको छ,’ उनले भनिन्, ‘यसअघि महिला सदस्यहरूले काम गर्न पाएनौं भन्ने गुनासो गर्नुभएको थियो। त्यो गुनासोलाई सञ्जाल गठनले सम्बोधन गरेको छ। सञ्जालले विवाद समाधानका लागि मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ।’
यस्तै मेयर बालेन शाहले सञ्जालको भूमिका ठूलो भएता पनि जघन्य अपराधलाई मेलमिलाप गराउने वा त्यही समाधान गर्न खोज्न नहुने बताए।
‘प्रहरीको तथ्याङ्क हेर्दा काठमाडौंमा महिला हिंसाका उजुरी धेरै देखिन्छन्,’ उनले भने, ‘हिंसा सहनु हुन्न भन्ने सचेतना भएका कारण उजुरी गर्नेको संख्या धेरै हुन सक्छ। यस प्रकारका समस्या वडा स्तरमै समाधान गर्न सके प्रहरीमा दर्ता हुने उजुरीको संख्यामा कमी आउनेछ।’
काठमाडौं महानगरपालिका महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९ बमोजिम संयोजकले ३ जना सदस्य छनौट गर्न सक्ने व्यवस्था छ।
महिला हिंसाविरुद्ध वडा तहमा क्रियाशील संस्थाका प्रतिनिधिमध्ये २ जना र महिला अधिकारको क्षेत्रमा काम गर्ने मेलमिलापकर्ता, कानुन व्यवसायी, समाजसेवी वा पत्रकारमध्येबाट १ जना गरी ३ जना छनौट गर्ने संयोजकलाई अधिकार दिइएको छ।
दलित महिला सदस्य र नजिकको प्रहरी कार्यालयका सम्भव भएसम्म महिला प्रतिनिधि समितिको सदस्य हुने व्यवस्था छ।
सञ्जाललाई ७ दिनभित्र पूर्णता दिइने डंगोलले बताइन्।
हिंसा, शोषण, दमन भेदभाव तथा अन्य कारणले अन्यायमा परेका महानगरमा बस्ने महिलाहरुमा छिटो न्यायको पहुँच पुर्याउन महिला सञ्जाल गठन गरिएको उनले बताइन्।