सिरहा । सिरहा ३ मा एमाले–जसपा तालमेल बलियो बनेको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार विरुद्ध एमाले–जसपाको तालमेल बलियो बनेको हो ।
सिरहा ३ बाट प्रतिनिधिसभामा पूर्वमन्त्री लिलानाथ श्रेष्ठ, प्रदेशसभा क मा एमालेका मनोजकुमार सिंह र प्रदेशसभा ख मा जनता समाजवादी पार्टीकी रेणु यादव उम्मेदवार छन् ।
मंसिर ४ गतेहुने निर्वाचनबाट मतपरिणम आफ्नो पक्षमा पार्नेगरि एमाले–जसपाका उम्मेदवारहरु मतदाताको घरदैलोमा छन् । निर्वाचन क्षेत्रका सबै ठाउँमा आफुहरुको पक्षमा माहोल बढेको पूर्वमन्त्री एवम् एमालेका प्रतिनिधिसभाका उम्मेदवार लिलानाथ श्रेष्ठले बताए । ‘हाम्रो पक्षमा मतदिन मतदाताहरु आँतुर हुनुहुन्छ । तीनवटै सिट हाम्रो सुनिश्चित छ ।’ उनले भने, ‘विपक्षी दलका नेतासाथीहरु चुनावमा मात्रै जनताका बीचमा पुग्छन् । हामी सँगै जनताका दुःख सुखमा साथ दिइरहेका छौं । विकास निर्माणका सवालमा हामीलेजति अरुले गरेका छैनन् र गर्न पनि सक्दैनन् ।’ बलियो संगठन र विकास निर्माणमा एमालेले खेलेको भूमिका नै आफुहरुको चुनाव जित्ने आधार भएको उनको भनाई छ । एमाले– जसपाको तालमेलले थप नागरिकमा उत्साह थपेको उनको भनाई छ ।
सिरहा नगरपालिकाका मेयर डा. नविन यादवले पनि सिरहा ३ मा एमाले–जसपाका साझा उम्मेदवारका पक्षमा माहोल बनेको बताए । एमालेले राष्ट्रियताका सवालमा खेलेको भूमिका र जसपाले उठाएको मद्येशको मुद्धाका विषयमा नागरिक जानकार रहेको र फेरि पनि यिनै दुई दलका साझा उम्मेदवारका पक्षमा सिरहाली नागरिक रहेको मेयर यादवले बताए ।
निर्वाचन क्षेत्रभित्रका सबै टोलबस्तिमा एमालेको पक्षमा जनलहर बढ्दो छ ।