धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र जसपाबीच बलियो तालमेल भएको बताए । धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले चुनावपछि एमाले र जसपाको सरकार बन्ने गरि तालमेल गरेको बताएका हुन् ।
साझा उम्मेदवार भएका क्षेत्रमा इमान्दार पूर्वक आधिकारीक उम्मेदवारलाई जिताउन र साझा उम्मेदवार नभएका क्षेत्रमा जित्ने सम्भावित उम्मेदवारका पक्षमा मतदान गर्न एमाले र जसपाका नेता कार्यकर्तालाई ओलीले अपिल गरेका हुन् । उनले धरानमा अशोक राईलाई एमालेले जिताउने बताए ।
एमाले छाड्दा अशोक राईको सम्भावना सकिएको भए पनि अहिले एमालेसँग मिलेपछि फेरि सम्भावना सुरु भएको बताए । सुनसरी १ मा एमालेले समर्थन गरेका राईलाई विजयी बनाएर पठाए उनी मन्त्री बन्न सक्ने भन्दै ओलीले भोट पनि मागे । उनले अशोक राईको चिन्ता धरानमा भन्दा खोटाङ र ओखलढुंगातिर बढी भएको भन्दै ओलीले भने, ‘खोटाङ ओखलढुंगातिर जसपाले एमालेलाई सघाउँछ धरानमा एमालेले अशोक राई जिताउँछ ।’ एमाले र जसपाका बीचमा कुनै जिल्लामा प्रतिस्पर्धा नहुने बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुनसरी १ का बागी उम्मेदवार मनोज मेन्याङबोप्रति आक्रामक बनेका छन् ।
धरानमा भएको सभालाई संबोधन गर्दै ओलीले पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्न पनि उनलाई आग्रह गरे । ‘समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने,’ ओलीले भने, ‘दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने ।’
पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने ओलीले बताए ।
दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षडयन्त्र स्वरुप स्वतन्त्र अभियान चलाइएको ओलीले आरोप लगाए । उनले यो अभियानलाई दलीय व्यवस्था विरोधी अभियानका रुपमा परिभाषित गरे ।
ओलीले भने, ‘यस्तो अभियानको भ्रममा पर्नु हुँदैन, अहिले साथीहरु कोही भ्रममा नपर्नु होला, नेकपा एमाले एउटा अनुशासित पार्टी हो, राजनीतिक पार्टी हो ।’
मनोज मेन्याङबोप्रति आक्रामक बनेका ओलीले जनता समाजवादी पार्टीका उम्मेदवार अशोक राईको भने प्रसंशा गरे ।