२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जर्मनी र अर्जेन्टिनाको नियती टार्ने प्रयाशमा पोर्चुगल, खेल आज



दोहा। कतार विश्वकपको कठिनमध्येको समूह मानिन्छ , समूह एच जहाँ रहेका छन् उरुग्वे, घाना र सर्बियासँगै पाँचपटकका फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डो रहेको पोर्चुगल।

अन्तिमपटक विश्वकप खेल्न लागेका रोनाल्डोलाई विश्व च्याम्पियन बन्ने सपना पुरा गर्न कम्तिमा समूहगत चरण पार गर्नुपर्ने छ। त्यसका लागि समूहको पहिलो खेलमा बिहीबार घानालाई हराएर सम्भावना सहज बनाउनुपर्ने चुनौती छ।

यसअघि चारपटक विश्वकप खेलिसकेका रोनाल्डोसँग सेमिफाइनलभन्दा अगाडि बढेको अनुभव छैन। ३७ वर्षीय रोनाल्डोका लागि विश्व च्याम्पियन बन्ने यो अन्तिम मौका र चुनौती हो। रोनाल्डोलाई पछिल्लो समय विवादले लगातार पछ्याइरहेको छ। कतार आउँदा उनीसँग म्यानचेस्टर युनाइटेड थियो तर मंगलबारदेखि उनी क्लबबिहिन बनेका छन्।

चर्चित टेलिभिजन प्रस्तोता पायर्स मोर्गनसँगको अन्तवार्ताले रोनाल्डोले म्यान युनाइटेड व्यवस्थापनदेखि प्रशिक्षक एरिक टान हागको चर्को आलोचना गरेपछि म्यान युनाइटेड तत्काल लागु हुने गरि उनलाई रिलिज गर्ने निर्णयमा पुगेको हो। त्यसो त म्यान युनाइटेडको यहि निर्णयका लागि रोनाल्डोले नियोजितरुपमा त्यसरी अन्तर्वार्ता दिएको पनि टिप्पणी भइरहेको छ।

प्रशिक्षक हाग टानले फिट नरहेको र लयबाहिर रहेको भन्दै रोनाल्डोलाई यो सिजन पहिलो रोजाईमा उतार्न मानिरहेका थिएनन्। तर आफ्नो बेइज्जती गर्ने गरि प्रशिक्षक हागले त्यसो गरेको गुनासो रोनाल्डोको छ। रोनाल्डोले यी सबै आलोचनाविरुद्ध जवाफ दिने गतिलो अवसर हुने छ कतार विश्वकप।

युरोपियन च्याम्पियन्स लिग र सिनियर अन्तर्राष्ट्रिय फुटबल दुवैका सर्वकालिन सर्वाधिक गोलकर्ता रोनाल्डोसामु पछिल्लो समय आईपरेको परिस्थितीलाई अस्वभाविक पनि भन्ने गरिएको छ। इतिहासकै महान् खेलाडीको बहसमा आउने गरेका यी खेलाडीको अबको व्यावशायीक करियर कस्तो हुने छ भन्ने छनक कतार विश्वकपले पनि देखाउने छ।

पोर्चुगलले घानासँग खेल्नुअघि नै रोनाल्डोले यो विश्वकपमा केही ठुला टोलीका स्तब्धपूर्ण हार देखिसकेका छन्। साउदी अरबले ७ पटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सी सम्मिलित अर्जेन्टिनालाई हराएको छ भने जापानले ४ पटकको विजेता जर्मनीलाई निराश बनाएको छ। पहिलो खेलमै पराजयपछि अर्जेन्टिना र जर्मनी दुवैको यात्रा कठिन हुने देखिएको छ। त्यसो पोर्चुगलले विश्वकपका पछिल्ला तिन संस्करणको आफ्नो पहिलो खेलमा जित हात पार्न सकेको छैन।

दुई खेल बराबरी खेलेको थियो भने एक खेलमा हार ब्यहोरेको थियो। पोर्चुगलले विश्वकपमा खेलेका पछिल्ला १३ खेलमध्ये तीनवटा मात्र जितेको छ। कप्तान रोनाल्डोसँगै लामो समयदेखि पोर्चुगलका प्रशिक्षक रहेका फर्नान्डो सान्तोस यसप्रति सचेत छन्। अफ्रिकी टोली घाना विश्वकपको क्वाटरफाइनलसम्म पुग्ने तीन अफ्रिकी टोलीमध्ये एक हो र यस्तो सफलता पछिल्लोपटक उसैल प्राप्त गरेको थियो। सन् २०१० को विश्वकपमा सेमिफाइनलनजिक पुगेको घाना उरुग्वेका लुइस स्वारेजले अन्तिम समयमा गोल लाइनबाट बललाई हातले क्लियर गरेपछि दुर्भाग्यशाली देखियो।

घानाले प्राप्त पेनाल्टी सदुपयोग गर्न सकेन भने टाइब्रेकरमा पनि हार ब्यहोरेको थियो। त्यसपछि सन् २०१४ को विश्वकपमा पोर्चुगलसँग २(१ गोलले पराजित भएर दोस्रो चरण पुग्ने सम्भावना समाप्त भएको थियो। घाना र पोर्चुगलबीच पछिल्लोपटक भएको प्रतिस्पर्धा नै त्यही थियो। सन् २०१८ को विश्वकपमा भने घाना छनोट हुन सकेको थिएन। पोर्चुगल प्रिक्वाटरफाइनलसम्म पुगेर उरुग्वेसँग पराजित हुँदै बाहिरिएको थियो।

पोर्चुगलले अन्तर्राष्ट्रिय फुटबलमा पछिल्ला चारमध्ये दुई खेल जितेको छ भने दुई खेल हारेको छ। यस्तै पछिल्ला ९ खेलमा ६ जित, २ हार र एक बराबरीको नतिजा निकालेको छ। घानाले पछिल्ला ६ मध्ये तीन खेल हारेको छ भने ३ खेल जितेको छ। यी दुवै टोलीले आफ्नो पछिल्लो खेल जितेका छन्।

प्रकाशित मिति : २०७९, ८ मंसिर बिहीबार ००:००  १२ : ५० बजे