विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफूले मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् । एकीकृत समाजवादीका नेता तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफू नैतिकताको आधारमा मुख्यमन्त्री नबन्ने बताएका हुन् ।
उनको दलले प्रदेश १ मा प्रत्यक्ष तर्फ तीन सीट र समानुपातिक तर्फ १ सीट पाएको छ ।
प्रदेश १ मा सत्ता गठबन्धन भित्र रहेका दल नेपाली कांग्रेस र माओवादीले मुख्यमन्त्रीको दाबी गरेका छन् ।
प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर नेपाली कांग्रेसले २७ सिट र माओवादीले १३ सीट पाएको छ ।
ठूलो दल भएका कारण नेपाली कांग्रेसले प्रदेश १ को मुख्यमन्त्री पाउनु पर्ने नेपाली कांग्रेस प्रदेश सभापति उद्धव थापाले बताए ।
उनले आफूहरु ठूलो दल भएका कारण मुख्यमन्त्री छाड्न नहुने भन्दै केन्द्रसँग लविंङ भइरहेको बताए ।
प्रदेश १ मा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका बीचमा गठबन्धन सरकार छ । गठबन्धनमा रहेको जसपा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमालेसँग तालमेल गरेकाले जसपा सत्ता गठबन्धनमा रहने नरहने टुंगो लागेको छैन ।
सत्ता गठबन्धनको सरकार बन्ने नबन्ने भन्ने विषयको टुंगो भने जनता समाजवादी पार्टीले गर्ने छ । समानुपातिक तर्फबाट एक सीट पाएको जसपाले गठबन्धनलाई सर्मथन नगरे गठबन्धनको सरकार बन्दैन । एकीकृत समाजवादी, माओवादी र नेपाली कांग्रेसको ४६ सिट मात्रै हुँदा जसपा निर्णायक बन्ने छ ।