२०८१, ६ मंसिर बिहीबार | Thu Nov 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को बन्ला कांग्रेस संसदीय दलको नेता ?

शेखरको समर्थनपछि गगन थापा हौसिए, चमत्कारिक परिणामको अपेक्षा



काठमाडौं । चरण-चरणको छलफलपछि प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिन संस्थापनइतरमा सहमति जुटेको छ । शेखर-गगन समूहबाट आज दिउँसो २ बजे हुने मनोनयनमा महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् ।

सोमबार र मंगलबार भएको छलफलपछि शेखरको समर्थनमा गगन थापालाई अघि सार्ने टुंगो लागेको हो ।

१४ औं महाधिवेशनमा शेखरको नेतृत्वमा प्यानल बनाएर लडेको इतर समूहले १५औं महाधिवेशनसम्म आफूहरू एकढिक्का हुनुपर्ने दबाब दिँदै एकजनामात्र उभ्याउने गरी नेताहरूलाई दबाब दिएका थिए ।

पार्टीका सहमहामन्त्री जीवन परियारले दुईमध्ये एकजना ब्याक भएर गुट जोगाउन आफूहरूले दबाब दिएको बताए । इतर समूह फुटाउन केही लागेको भन्दै त्यस्ताका विरुद्ध एक ढिक्का बन्नुपर्ने उनको भनाइ थियो ।

चुनावअघिदेखि नै गगन थापाले संसदीय दलको नेता लड्न तयारी थालिसकेको बताएका थिए । सुरूमा केही संकेत नगरेका शेखरले पनि पछिल्लो समयमा आकांक्षा देखाए । यसरी इतर समूहमै दुई दावेदार हुँदा देउवालाई प्रतिस्पर्धा सहज बनेको थियो । तर, अब शेखरको समर्थनपछि गगनको मनोबल बढेको छ ।

के शेखरको समर्थनप्राप्त गगनले देउवालाई कडा चुनौती देलान् ? कांग्रेसको गणित हेर्दा अहिले पनि देउवा नै बलिया देखिन्छन् । यदि शेखर समूह एक ढिक्का भएर गगनलाई भोट हाल्यो भने पनि उनले जित्न सहज छैन । तर, गोप्य मतदान भएकाले ‘जे पनि हुन सक्ने’ गगन थापा पक्षका नेताहरू बताउँछन् ।

आजको बैठकमा ३८ जना सांसद उपस्थित भएको इतर समूहका नेताको भनाइ छ । कांग्रेस संसदीय दलको चुनाव जित्न ४५ जनाको समर्थन चाहिन्छ । आफ्नो समूहको एक ढिक्का भोट र संस्थापन समूहबाट पनि केही भोट ल्याएर ‘चमत्कारिक जित’ हासिल गर्ने अपेक्षामा गगन थापा छन् ।
तर, संस्थापन पक्षका नेताहरू भने इतर समूहकै सबैले गगनलाई भोट नहाल्ने दाबी गर्छन् ।

प्रकाशित मिति : २०७९, ५ पुस मंगलबार ००:००  १ : ५६ बजे