२०८१, १३ बैशाख बिहीबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

११ अर्ब १६ करोडको विजुली नेपालले भारतलाई बेच्यो



काठमाडौं । यस वर्षको ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत १९ जेठ २०७९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड -आईएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत विक्री सुरु गरेको थियो । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ -भारु)मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।

सुरुमा दुईवटा जलविद्युत केन्द्रहरुबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले गत १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै आठ जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता चार सय आठ मेगावाट रहेको छ ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । चालु आव २०७९/८० को ३ पुससम्ममा एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत निर्यात गरी आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार रुपैयाँ आर्जन गरिएको छ ।

चिसो बढ्दा काठमाडौं उपत्यकालगायतको विद्युत माग बढेको तर खोलानालामा पानीको बहाब घट्दा नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरुबाट उत्पादन कम भएसँगै विद्युत निर्यात बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

कार्यकारी निर्देशक घिसिङले देशभित्रको उत्पादन घट्दा हिउँदयामका करिब चार महिनाको विद्युत माग धान्न भारतबाट विद्युत आयात गर्नु पर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गरे । घिसिङले वैशाख अन्तिम/जेठको पहिलो हप्ताबाबाट फेरि विद्यत निर्यात सुरु हुने बताए ।

प्रकाशित मिति : २०७९, ५ पुस मंगलबार ००:००  २ : १० बजे