२०८१, ११ बैशाख मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शेयर खोल्दै मोलुङ हाईड्रो, भरेजति सबैले शेयर पाउने

मोलुङ, सुनकोशी र सिद्धिचरणका स्थानीयले मात्रै याे शेयर भर्न पाउने



काठमाडाैं । मोलुङ हाईड्रोपावर कम्पनीले स्थानीयका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका नागरिकका लागि कम्पनीले साधारण शेयर निष्काशन गर्ने भएको हो ।

आगामी मंलबारदेखी प्रभावित क्षेत्रका स्थानियले शेयर भर्न सक्ने गरी साधारण शेयर खुल्ला गरिने कम्पनी सञ्चालक समितिका अध्यक्ष श्रीराम महर्जनले बताए । कम्पनीको १३ औं साधारण सभाको अवसरमा अध्यक्ष महर्जनले प्रभावित क्षेत्रका नागरिकका लागि १० प्रतिशत शेयर निष्काशन गर्न लागिएको बताएका हुन् । 

कम्पनीको कुल जारी पुँजी ८० करोड २५ लाखको १० प्रतिशत अर्थात आठ करोड दुई लाख ५० हजार बराबरको आठ लाख दुई हजार ५०० कित्ता साधारण शेयर प्रभावित क्षेत्रका लागि शेयर निष्काशन गरिने अध्यक्ष महर्जनले जानकारी दिए । त्यसपछी तत्काल आयोजनामा कार्यरत कर्मचारी, श्रम स्वीकृति पाएका विदेशमा रोजगार गरिरहेका नेपाली नागरिकहरु र सर्वसाधारणका लागि ३४ प्रतिशत अर्थात २७ लाख २८ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने तयारी भईरहेको छ ।

प्रभावित क्षेत्रका लागि खोल्न लागिएको १० प्रतिशत शेयर ओखलढुङ्गाका तीन वटा स्थानिय तहका नागरिकले आवेदन दिन पाउने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका सीओओ विजेन्द्र प्रधानले बताए । आयोजना सञ्चालन भएको पालिका मोलुङ गाउँपालिकाका बासिन्दाहरुले पाँच प्रतिशत, सुनकोशी गाउँपालिका र सिद्धिचरण नगरपालिकाका नागरिकले बाँकी पाँच प्रतिशत शेयर भर्न पाउने प्रधानको भनाई छ । यस अघि संस्थापक शेयर लिसेककेका मोलुङ गाउँपालिकाका स्थानियले यो साधारण शेयर भर्न पाउने छैनन् । नियमानुसार शेयर भर्ने सबैले शेयर पाउनेछन् ।

हाइड्रोले मोलुङ गाउँपाकिलाका ८ वटै वडाका स्थानीयलाई संस्थापक शेयर यसअघि नै दिइसकेको छ । मोलुङका स्थानीयलाई प्रभावित क्षेत्र भनेर संस्थापक शेयर दिएपछि सिद्धिचरण र सुनकोशीका तत्कालिन जनप्रतिनिधिले करिब १ वर्षअघि आफ्नो क्षेत्रका नागरिकले पनि शेयर पाउनुपर्ने भन्दै लिखित रुपमै आयोजनाको ध्यानाकर्षण गराएका थिए ।

शेयर भर्नका लागि नाबालकको हकमा जन्मदर्ता साथै अन्यको हकमा नागरिकता सँगै बैंक खाता र डीम्याट खाता अनिवार्य आवश्यक पर्ने छ । आगामी माघ १८ गते सम्म साधारण शेयर भर्न सकिने छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छरे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालय बाट आवेदन दिन सक्नेछन् । मोलुङ गाउँपालिका ओखलढुङ्गामा सञ्चालित मोलुङ हाईड्रो पावरबाट हाल सात मेघावाट विद्युत उत्पादन भईरहेको छ ।

वार्षिक १५ करोड आम्दानी

गत आर्थिक वर्षमा मोलुङ हाइड्रोले १५ करोड ६० लाख ९५ हजार सतसट्ठी रुपैंया आम्दानी गरेको छ । उत्पादन सुरु गरेको केही समय केन्द्रीय प्रशारणमा नजोडिँदा घाटा व्यहोरेको मोलुङ हाइड्रोले गतवर्षबाट केन्द्रीय प्रशारण लाइनमा जोडिएपछि आम्दानी गर्न थालेको हो ।

आयोजनाले आम्दानी दिन थालेको तर बैंकहरुले ब्याजदर बढाउँदा थप आर्थिक भार परेको कम्पनी सञ्चालक नविन महर्जनले बताए । ‘विगतमा समयमै खपत नहुँदा आम्दानी नभएर घाटामा थियो, १३२ केभिए प्रशारण लाइन बनेपछि अब नियमित आम्दानी हुनथालेको छ ।’ उनले भने, ‘१९ करोडसम्म वार्षिक आम्दानी गर्ने लक्ष्य थियो । १९ सम्म नभएपनि १५ देखि १७ करोड आम्दानी हुनेछ । केही वर्षमा ऋण चुक्ता गरेपछि कम्पनी फाइदामा जान्छ ।’ मोलुङ हाइड्रो ओखलढुंगामा सञ्चालित विद्युत आयोजना मध्ये सबैभन्दा पहिला उत्पादन सुरु भएको आयोजना हो ।

प्रकाशित मिति : २०७९, १७ पुस आइतबार ००:००  २ : १५ बजे