ओखलढुङ्गा । ओखलढुङ्गामा पाँच करोड बराबरको सुन्तला उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुङ्गाको तथ्याङ्क अनुसार जिल्लामा यस वर्ष पाँच करोड बराबरको सुन्तला उत्पादन भएको हो । तथ्याङ्क अनुसार २६७ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेती बाट ८५० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका कृषि अर्थ विज्ञ गणेश अधिकारीले बताए ।
अधिकारीका अनुसार अघिल्लो आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्ष २०७९÷०८० मा २६ मेट्रिक टन बढी सुन्तला फलेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा ८२४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष उत्पादन भएको सुन्तला प्रतिकिलो ६० रुपैयाँका दरले विक्रि गर्दा पाँच करोड भन्दा बढी रकमको हुने कार्यालयका निमित्त प्रमुख हेमबहादुर आलेले बताए । सुन्तला बोटमै अहिले ६० देखी ८० रुपैयाँ प्रतिकिलोका दरले विक्रि भईरहेको आलेको भनाई छ । स्थानिय बजारमा सुन्तला प्रतिकिलो ८० देखी १२० मा विक्रि भईरहेको छ ।
समयमै पानी परेको र रोग किरा कम लागेका कारण सुन्तला जातको फलफूलको उत्पादन बढेको निमित्त कार्यालय प्रमुख आलेले जानकारी दिए । जिल्लाको सिद्धिचरण नगरपालिका, चिशंखुगढी, मानेभञ्ज्याङ र सुनकोशी गाउँपापलिकाको माथिल्लो क्षेत्रमा सुन्तला खेती गरिन्छ । विगतका वर्षहरुमा प्रसस्तै सुन्तला उत्पादन हुने क्षेत्र मानेभञ्ज्याङ गाउँपालिकाको उबु, वाक्सा, उदयपुर र माधपुर क्षेत्रमा सुन्तला मासिदै गएको पनि कार्यालयले जनाएको छ ।