धनकुटा । अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको दशौँ भेडेटार फुड फेस्टिभल सम्पन्न भएको छ ।
भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिँदै आएको महोत्सवमा ५० लाखको आर्थिक कारोबार भएको आयोजक होटल एसोसिएसन अफ भेडेटारले जनाएको छ । नयाँ वर्षलाई लक्षित गरी पौष १६ गतेदेखि सञ्चालित फेस्टिभलमा विभिन्न जातीय खाना, घरेलु उद्योगका सामग्रीहरु, फलफूल, पेय पदार्थ र मासुमा पर्यटकहरू बढी आकर्षित भएको होटल एसोसिएसन अफ भेडेटारकी कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले जानकारी दिए ।
आन्तरिक तथा बाह्य गरी १० हजार भन्दा बढी पर्यटकले फेस्टिभलको अवलोकन गरेको आयोजकको भनाई छ । जसमा ५ हजार बढी भारतीय पर्यटक रहेको आयोजकले जनाएको छ ।
फेस्टिभलमा आएका पर्यटकहरूले नाम्जे, थुम्की, आत्मा बस्ने घर, साँगुरीगढी, पाथीभरा मन्दिर, बौद्ध विहार गुम्बा लगायतका पर्यटकीय स्थलको दृश्यावलोकन गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई बताए । पर्यटन प्रवर्द्धनमा टेवा पुगेकाे अध्यक्ष राईले बताए ।