२०८१, ८ बैशाख शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुम्बाको सहर हेलम्बुमा बञ्जीजम्प गर्ने झोलुङ्गे पुल बन्याे



सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बुमा एक सय ७३ मिटर उचाइबाट साहसिक खेल बञ्जीजम्प गर्न पाइने भएको छ । हेलम्बु गाउँपालिका–१ स्थित ङिवादावामा बनेको पुलमा बञ्जीजम्प खेल सञ्चालन गर्न लागिएको हो ।

कूल तीन सय ७० मिटर लम्बाइमा बनेको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । गाउँपालिका अनुसार उमाथानी हिमशिखर जेभीसँग रु दुई करोड ३५ लाखमा ठेक्का सम्झौता भई पुल निर्माण सम्पन्न भएको हो ।

गुम्बाको सहर भनेर चिनिने हेलम्बुमा आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न बञ्जीजम्प खेलाउने उद्देश्यका साथ पुल निर्माण गरिएकोे गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । बञ्जीका लागि गाउँपालिकाले गत वर्ष डाएनएल जोशी कन्सल्टेन्सीलाई विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्ने जिम्मा दिएको थियो । डिपिआरले रु पाँच करोड ३९ लाख बजेट लाग्ने अनुमान गरेको छ ।

ह्योल्मो जातिको बसोबास रहेको हेलम्बु धार्मिक सांस्कृतिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । पर्यटन प्रवद्र्धनका लागि ६० किलोमिटर लामो ग्रेटट्रेलको निर्माण कार्य सुरु भइसकेको छ । “पर्यटक भित्र्याई हेलम्बुवासीलाई अर्थतन्त्रमा अब्बल बनाउने यो अभियान हो”, गाउँपालिका अध्यक्ष शेर्पाले भन्नुभयो, “झोलुङ्गे पुल तयार भएसँगै अब बञ्जीजम्पको कामको थालनी गरिनेछ ।”

साहसिक खेल बञ्जी खेलाइने पुलले स्थानीय पाङगाङमा र धवागाङ गाउँलाई जोड्छ । पुल निर्माण भएसँगै एक गाउँबाट अर्को गाउँ पुग्न पहिले खर्चिँदै आएको झन्डै पाँच घण्टाको समय बढीमा पाँच मिनेटमा पार गर्न सकिने गाउँपालिकाका सबइन्जिनियर शेरबहादुर राईले बताउनुभयो । “पहिले जनताले सास्ती पाइरहेका थिए”, उहाँ भन्नुहुन्छ, “पुल बनेपछि यात्रा सहज भएको छ, उकाली ओराली गर्नुपर्ने झन्झन्टबाट गाउँवासीले छुट्कारा पाएका छन् ।”

पुल निर्माणपछि त्यहाँबाट नजिकै रहेको सिमिसिदाङ हिमाल पनि देख्न सकिन्छ । मेलम्ची खानेपानी आयोजनाको अम्बाथानमा रहेको मुहानसमेत हेर्न पाइने हुँदा पर्यटक आकर्षित हुने गाउँपालिका अध्यक्ष निमाग्याल्जेनले बताउनुभयो । कूल एक सय ६० मिटर उचाइको बञ्जीजम्प २०५६ सालदेखि जिल्लाको भोटेकोसी नदीमा सञ्चालन हुँदै आएको छ । अब बन्ने बञ्जी भोटेकोसीको भन्दा १३ मिटर बढी उचाइको हुनेछ ।

प्रकाशित मिति : २०७९, २३ पुस शनिबार ००:००  १ : ४३ बजे