२०८१, ११ बैशाख मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धिचरण नगरपालिकाको खर्च २२ करोड ६ लाख



ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट हालसम्म २२ करोड ६ लाख खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७९-०८० मा ७० करोड ७६ लाख ४३ हजार ९ सय रुपैंया कुल बजेट मध्ये ५ महिनामा २२ करोड ६ लाख खर्च गरेको हो ।

११ औं नगरसभामा चालु आर्थिक वर्षको प्रगति प्रस्तुत गर्दै नगरप्रमुख तेजेन्द्र खनालले नगरपालिकाको कार्यसम्पादन र बजेट खर्चको स्थिती सन्तोषजनक रहेको बताए । नगरबासीको माग र आवश्यकताका आधारमा थप सकृय भएर विनियोजित बजेटबाट उल्लेख्य काम गर्नुपर्ने दायित्व रहेको नगरप्रमुख खनालको भनाई छ । ‘२२ करोड ६ लाख खर्च भयो, १ सय २५ वटाभन्दा बढी योजनाको काम सम्झौता भएर अगाडी बढेको छ ।’ नगरप्रमुख खनालले भने, ‘अहिले समिक्षाको चरणसम्म आउँदा सन्तोषजनक मात्रै भएपनि आर्थिक वर्षको अन्तसम्म हामी लक्ष्यमा पुग्छौं ।’ जनप्रतिनिधि र कर्मचारीलाई थप सकृय भएर काम गर्नुपर्ने खनालको भनाई थियो ।

नगरसभामा चालु खर्च १८ करोड ७० लाख ७२ हजार र पूँजीगत खर्च ३ करोड ३५ लाख ३९ हजार खर्च भएको नगरप्रमुख खनालले बताए । नगरपालिको ३१.१७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको उनकाे भनाई छ । विनियोजित बजेट मध्ये सशर्त तर्फ ५२.८७ प्रतिशत वित्तीय र ६३.५० प्रतिशत भौतिक प्रगति हासिल गरेको उनले बताए । निर्शत तर्फ विनियोजित बजेटको ४१.५ प्रतिशत वित्तीय र ७६.७ प्रतिशत भौतिक प्रगति हासिल गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । नगर तथा वडास्तरीय दुई सय ४९ वटा स्वीकृत योजनाहरु मध्ये एक सय २५ वटा सम्झौता भइ सञ्चालनमा रहेको र २५ वटा योजनाहरु सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ ।

नगरसभामा विनियोजित विधेयकमा भएका संशोधन सहितको अध्यादेश नगरउपप्रमुख केदारबाबु बस्नेतले प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षमा नगर तथा वडामा सञ्चालन गरिने प्रस्तावित बजेट २ करोड ७९ लाख ७५ हजार रहेको उपप्रमुख बस्नेतले बताए  ।

नगरसभामा वडा स्तरीय कार्यक्रम तथा बजेट संशोधन प्रस्तुत गर्दै साविकमा स्वीकृत बजेट १ करोड २० लाख ४५ हजार रहेकोमा संशोधनका लागि प्रस्ताव गरिएको बजेट १ करोड १९ लाख ९५ हजार रहेको उनले बताए । नगरस्तरीय बजेट २५ लाख रहेकोमा संशोधन सहित ५२ लाख को बजेट प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नगरसभामा प्रस्ताव गरिएका सबै विषयहरु सर्वसम्मत पारित भएका छन् ।

प्रकाशित मिति : २०७९, २४ पुस आइतबार ००:००  ३ : ५० बजे