सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो पालिकामा शिक्षण केन्द्र (टिचिङ सेन्टर) स्थापना गरेको छ ।
पालिकाको शैक्षिक गुणस्तर विकासको अवधारण अनुसार आजबाट टिचिङ सेन्टर सुरु गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । २१औँ शताब्दीको शिक्षालाई बस्तुवादी, वैज्ञानिक, व्यवहारिक र जीवन उपयोगी बनाउन यो अवधारणा ल्याइएको उनले बताए ।
![](https://i0.wp.com/onlineradionepal.gov.np/wp-content/uploads/2023/01/323530016_862849941596948_1927095071679891841_n-1024x472.jpg?resize=720%2C332&ssl=1)
विद्यार्थीको वर्तमान आवश्यकता, ज्ञान, क्षमता र प्रविधिलाई केन्द्रित गर्ने योजना अनुसार टिचिङ सेन्टर स्थापना गर्ने प्रयास नेपालकै अन्य पालिका मध्येकै पहिलो भएको अध्यक्ष शेर्पाकाे दावी छ । यो मोडेलमा विद्यार्थीहरूले आवश्यकता अनुसारको विषय छनौट गरेर अध्ययन गर्न सक्ने उहाँको भनाइ छ । गाउँसभाबाट नीतिगत रूपमै टिचिङ सेन्टर स्थापना गर्ने योजना अघि बढाइएको पनि अध्यक्ष शेर्पाले बताए ।
सो योजनाको आर्थिक व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा राखिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बताए । उनका अनुसार १२ कक्षामा शिक्षकहरूको दरबन्दी अभाव हुँदा प्रत्येक प्लस टु विद्यालयमा दुई–दुईजना मात्र शिक्षक दरबन्दी रहेका छन् । जसले पढाउन समस्या भएपछि पालिका भित्रका १२ कक्षा सम्मका ३ वटा विद्यालयका विद्यार्थीहरूलाई एउटा केन्द्र पर्ने ठाउँमा जम्मा गरेर तीन वटै विद्यालयबाट दुई–दुईजना शिक्षकहरूले टिचिङ सेन्टरमा पढाउन आउने उनले बताए ।
![](https://i0.wp.com/onlineradionepal.gov.np/wp-content/uploads/2023/01/324587490_534761658678415_2013705671228465196_n-1024x472.jpg?resize=720%2C332&ssl=1)
अहिले तत्काललाई ग्याल्थुमको मेलम्ची भ्याली क्याम्पसबाट टिचिङ सेन्टर सुरुवात गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए । उनका अनुसार तत्कालको लागि पहिलो आर्थिक वर्षमा सरस्वती माध्यमिक विद्यालय ग्याल्थुमका विद्यार्थीहरूलाई व्यवस्थापनसहित पढाउन सुरुवात गरिनेछ ।
विद्यार्थीको भर्ना तथा परीक्षा फारमदेखि अन्य व्यवस्थापन भने सम्बन्धित विद्यालयले गर्ने गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वनाथ भण्डारीले बताए ।
![](https://i0.wp.com/onlineradionepal.gov.np/wp-content/uploads/2023/01/324508343_3212774829033051_5749361212646629997_n-1024x472.jpg?resize=720%2C332&ssl=1)