काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।
नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।
प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनको पक्षमा १६९ मत छ । तर, विश्वासको मतका लागि न्युनतम १३८ मत चाहिन्छ ।
प्रचण्डले चुनावी तालमेल गरेको हालको प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले विश्वासको मत दिने नदिने निर्णय गरेको छैन । आज बिहान बस्ने संसदीय दलको बैठकले यसबारे निर्णय गर्ने कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।
हिजो साँझ विश्वासको मतका विषयमा प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । देउवाले दलको बैठकले यसबारे निर्णय गर्ने बताएका थिए ।