२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१ वर्षमा ४३ दिन मात्रै विद्यालय आउने प्रअ जिम्मेवारीबाट हटाइए



ओखलढुंगा । ओखलढुंगाको जनता आधरभूत विद्यालयले नियमित विद्यालय नआउने प्रअलाई जिम्मेवारी मुक्त गरेको छ । करिब २० वर्षदेखि उक्त विद्यालयमा प्रअको जिम्मेवारीमा रहेका रामदेव चौधरीलाई विद्यालयले प्रअको जिम्मेवारीबाट हटाएको हो ।

नियमित तलव सुविधा लिने तर प्रअ नै पठनपाठनमा संलग्न नहुने र बिदामा बसेपछि लामो समय विद्यालयको सम्पर्कमा नरहने गरेकाले जिम्मेवारीबाट हटाइएको विव्यस अध्यक्ष पेम्बा शेर्पाले बताए । नियमित विद्यालयमा उपस्थित हुन र पठनपाठन प्रभावित नबनाउन विव्यसले पटक–पटक सचेत गराएपनि अटेर गरेकाले बाध्य भएर प्रअबाट हटाउनु परेको अध्यक्ष शेर्पाको भनाई छ । ‘हामीले गाउँको यो विद्यालयलाई नमूना विद्यालय बनाउने लक्ष्यका साथ शैक्षिक कार्यक्रमहरु ल्यायौं । पूर्वाधार विकासमा जोड दियौं तर प्रअ गैरजिम्मेवार हुँदा समस्या भयो । पटक पटक सचेत गराउँदा नभएपछि बल्ल जिम्मेवारीबाट उहाँलाई हटाएर अर्को शिक्षकलाई प्रअ बनाइयो ।’ अध्यक्ष शेर्पाले भने, ‘हामीले खिजीदेम्बा गाउँपालिकामा विद्यालयमा हाजिर नभएका शिक्षककको तलब रोक्का गर्न ४ पटक सम्म निवेदन दियौं तर कसरी मिलाए नियमित तलव बझिरहे । अहिले विव्यसको विशेष निर्णयमा स्थानीय सरकारकै सहमतिमा अर्को प्रअ बनायौं ।’ अध्यक्ष शेर्पाका अनुसार वर्षमा ९ महिना विद्यालय सञ्चालनहुँदा प्रअ चौधरी जम्मा ४३ दिन मात्रै हाजिरहुने गरेका छन् । 

प्रअ नै सम्पर्क विहिन भएपछि विव्यसले आन्तरिक स्रोतबाटै तलव खुवाउने गरी अर्को शिक्षक राखेर पठनपाठन गराइरहेको छ ।

जिल्लाको दुर्गम र शेर्पासमुदायको बाहुल्यता रहेको क्षेत्रमा विद्यालय नगई तलब लिन पाउने भएपछि चौधरी लामो समय पात्लेमा बसेका थिए । नयाँ विव्यस र शिक्षित अभिभावकहरुले पछिल्लो समय शैक्षिक क्षेत्रमा चासो राख्न थालेपछि पनि चौधरी विगतकै झै चल्न खोज्दा समस्या उत्पन्न भएको अभिभावकहरु बताउँछन् । 

चौधरीलाई जिम्मेवारी मुक्त गरेर नयाँ प्रअको जिम्मेवारी रमेश सुनुवारलाई दिइएको छ ।

नेपाल सरकारबाट प्राप्त अनुदान, दाताको सहयोग र स्थानीयको अपेक्षा अनुसार शैक्षिक विकास र गुणस्तर सुधारमा भूमिका खेल्ने प्रतिवद्धतासहित सुनुवारलाई प्रअ बनाइएको विव्यसले जनाएको छ ।

प्रकाशित मिति : २०७९, २६ पुस मंगलबार ००:००  १० : २३ बजे