काठमाडाैं । एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टीले प्रधानमन्त्री प्रचण्डलाई शर्तसहित विश्वासको मत दिन लागेको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले आफ्नो पार्टीले राखेका एजेण्डा पूरा नगरे कुनै पनि वेलामा समर्थन फिर्ता लिने गरी विश्वासको मत दिने बताए । पार्टीले राष्ट्रियता, सुशासन, देशको बिग्रिँदै गएको अर्थतन्त्र र सुधारका लागि उपयुक्त कदम, राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ताजस्ता राष्ट्रिय संवेदनशील विषयमा सरकारले आवश्यक काम गर्नुपर्ने शर्त राखेको खतिवडाले बताए ।
उनले विश्वासको मत दिएपनि सरकारमा सहभागी भने नहुने बताएका छन् । प्रवक्ता खतिवडाले दलका नेता एवं पार्टी अध्यक्ष माधवकुमार नेपालले संसदमा राखेका धारणाका आधारमा पार्टीले आफ्नो धारणा बनाउने बताएका छन् ।