२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकपपछिको अर्को रोमाञ्च मेसी र रोनाल्डो ‘अन्तिम पटक’ आज आमने,सामने



काठमाडौं । समयकालीन फुटबलका दुई महानतम् खेलाडी, अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो आज मैदानमा आमनेसामने हुँदैछन् । विश्वभरका फुटबलप्रेमीका लागि यो एउटा प्रतीक्षित क्षण हुने छ ।

वर्षौँ देखि फुटबल जगतमा मेसी र रोनाल्डोमा को सर्वोत्कृष्ट भन्ने अनवरत बहस चलिरहेको थियो । तर, यसपालिको विश्वकप मेसीको अर्जेन्टिनाले जितेसँगै यो बहसमा पूर्णविराम लागेको उनका फ्यानहरूले ठानेका छन् । रोनाल्डोले आफ्नो फुटबल करिअरमा धेरै कुरा हासिल गर्न सफल भए पनि विश्वकप ट्रफी उचाल्न सकेनन् ।

यतिबेला मेसी र रोनाल्डो आफ्नो फुटबल करिअरमा फरक–फरक मोडमा छन् । विश्व विजेताका रूपमा मेसीले आफूलाई ‘गोट’ ग्रेटेस्ट अफ अल टाइम प्रमाणित गर्न सफल हुँदा रोनाल्डोको करिअर भने अधोगतिमा छ । आज एउटा मौका छ, उनका लागि मेस्सीको टिमविरुद्ध स्तब्ध नतिजा निकालेर आफूलाई पुन एकपटक प्रमाणित गर्ने । सम्भवतः मेसी र रोनाल्डो आमनेसामने हुने यो अन्तिम मौका पनि हुन सक्छ ।

विश्वकपको निराशाजनक यात्रापछि रोनाल्डो साउदी क्लब अल नासरमा आबद्ध भएका थिए । मेसी भने विश्व चर्चित क्लब पेरिस सेन्ट जर्मेन पीएसजी मा छन् । मेसीको पीएसजी र रोनाल्डोको साउदी अल स्टार ११ अल नासर र अल हिलालका खेलाडीहरू सहभागी बीच आज मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।

अहिलेसम्म घरेलु र अन्तर्राष्ट्रिय फुटबलमा मेसी र रोनाल्डो ३६ पटक आमनेसामने भएका छन् । उनीहरूको पहिलो भिडन्त २००८ को च्याम्पियन्स लिगमा भएको थियो । उक्त भिडन्तमा रोनाल्डो म्यान्चेस्टर युनाइटेड र मेसीले बार्सिलोनाबाट खेलेका थिए । उक्त म्याच बराबरीमा सकियो भने म्यान्चेस्टरले सेकेन्ड लेग जित्न सफल भयो । तर क्याटालन क्लब बार्सिलोनाले अर्को वर्ष त्यसको बदला लिँदै च्याम्पियन्स लिगको फाइनलमा म्यान्चेस्टरलाई हरायो । सोही हारपछि रोनाल्डो रियल मड्रिडमा गएका थिए ।

त्यसपछिका नौ वर्षसम्म लालिगा र घरेलु स्पेनिस प्रतिस्पर्धाहरूमा यी दुई लिजेन्डले सँगै खेले । त्यसपछि रोनाल्डो लिग छोडेर जुभेन्टसतिर लागे ।

मेसी र रोनाल्डोबीचको पछिल्लो भिडन्त चाहिँ सन् २०२० मा भएको थियो । यूसीएलको त्यस म्याचमा रोनाल्डोको जुभेन्टसले मेसीको बार्सिलोनालाई ३–०ले स्तब्ध तुल्यायो । रोनाल्डोले बार्सिलोनाविरुद्ध पेनाल्टीमा दुई गोल गरेका थिए ।

समग्र नतिजामा भने मेसी अगाडि छन् । रोनाल्डोले ११ वटा म्याचमा जित हासिल गर्दा मेसीको जित संख्या १६ छ । गोलसंख्यामा मेसी एक गोलले अगाडि छन् । उनले २२ गोल गर्दा रोनाल्डोको २१ गोल छ । गोलका लागि पास दिनेमा भने मेसी निकै अगाडि छन् । मेसीले ११ गोलका लागि अवसर सिर्जना गर्दा रोनाल्डोले १ गोलका लागि मात्रै पास मिलाएका छन् ।

आजको म्याचमा मेसीको पीएसजी रोनाल्डोको अल नासरभन्दा निकै बलियो देखिन्छ । फ्रेन्च क्लब पीएसजीसँग मेसीसँगै विश्व फुटबलका सुपरस्टारहरू छन् । ब्राजिलका नेयमार र फ्रान्सका एम्बाप्पेदेखि मोरक्कोका हाकिमी पीएसजीका खेलाडी हुन् । अल नासरसँग रोनाल्डोबाहेक कहलिएका खेलाडी छैनन् । यसर्थ म्याच एकपक्षीय हुन सक्ने खतरा पनि औँल्याइएको छ । तर, यदि अल नासरले पीएसजीविरुद्ध जित निकाल्यो भने त्यो सनसनी नतिजा हुनेछ ।

मैत्रीपूर्ण खेल भए पनि आजको भिडन्तमा संसारभरका फुटबलप्रेमीहरु झुम्मिनेछन् । नेपालमा पनि मेसी र रोनाल्डोको चर्को फ्यान फलोइङ भएकाले यस खेलप्रति चासो उत्तिकै छ । आजको खेल साउदी अरेबियाको किङ फहद इन्टरनेसनल स्टेडियममा हुन लागेको हो । ६८ हजार सिट क्षमताको रंगशालामा टिकट बुकिङका लागि अनलाइनबाट २० लाखभन्दा बढीले आवेदन गरेका थिए ।

साउदी सरकारले एउटा भीआइपी टिकटका लागि अक्सन समेत राखेको थियो । उक्त अक्सनमा सहभागी भएर एक साउदी व्यापारीले २६ लाख डलरमा सो टिकट खरिद गरेका छन् । २ लाख ६० हजारबाट सुरु भएको अक्सन बुधवार २६ लाखमा टुंगिएको हो । ती व्यापारीले दुवै टिमको ड्रेसिङ रुममा पहुँच पाउनुका साथै मेसी र रोनाल्डोसँग भेट्न सक्नेछन् ।

आजको खेल नेपाली समयअनुसार १०ः४५ मा सुरु हुनेछ ।

प्रकाशित मिति : २०७९, ५ माघ बिहीबार ००:००  १ : ३९ बजे