मेलम्ची । मेलम्ची नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई कृषि सामाग्री वितरण गरेको छ । नगरपालिकाको कृषि विकास शाखाद्वारा वडानम्बर ६ तालामाराङमा वितरित प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना पकेट विकास (मकै पकेट नयाँ) कार्यक्रम अन्तर्गत पचास प्रतिशत अनुदानका ४२ वटा कृषि सामग्री (मिनिटिलर र कर्नसेलर) नगर प्रमुख आइतमान तामाङले लाभग्राही किसानलाई हस्तान्तरण गरेका हुन् ।
कृषि आधुनिकिकरण गरेर किसानको जिविकोपार्जनका लागि कृषि क्रान्तिको अभियान ल्याइएको भन्दै नगरप्रमुख तामाङले व्यवसायीक खेति प्रणालीमा जोड दिन आग्रह गरेका छन् । कृषि उपजहरुको विशिष्टीकृत क्षेत्रहरु निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुहरुको मूल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, कृषिलाई सम्मानजनक नाफामुखी व्यावसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने र बहुसरोकारवाला निकायहरु बीचको समन्वयमार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने उद्देश्यले परियोजना सुरु गरिएको नगर प्रमुख तामाङको भनाई छ ।
नगरप्रमुख तामाङले कृषि पेशामा किसानको आकर्षण बढाउने र गरिबी अन्त्य गर्दै कृषि मार्फत नै समृद्धि हासिल गर्न सकिनेमा जोड दिएका छन् ।
नगर प्रमुख तामाङको प्रमुख आतिथ्यतामा भएको कृषि सामाग्री वितरण कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं ६ का वडाध्यक्ष प्रेम बहादुर तमाङ, कार्यपालिका सदस्य रिममाया तामाङ, वडा ६ का वडा सदस्य, स्थानीय किसानलगायतको उपस्थिति रहेको थियो ।