मुगुको छायाँनाथ नगरपालिकाका मेयर विष्णुकुमार भाम रारा तालको पर्यटन प्रवर्द्धनमा लागेका छन् । पर्यटन मार्फत नगरपालिकाको समृद्धि हासिल गर्ने लक्ष्यसहित मेयर भामले राराको पर्यटन प्रवर्द्धनलाई पहिलो प्राथमिकतामा राखेका हुन् ।
विश्वचर्चित पर्यटकीय गन्तव्यका रुपमा रहेको रारा क्षेत्रको पर्यटन प्रवर्द्धन विगतमा सरकारी क्षेत्रबाट उपेक्षामा परेको थियो । रारा घुम्न आउने पर्यटकका लागि बसोबासको व्यवस्था राम्रो नहुँदा समस्या हुने गुनासो आएपछि मेयर भामले होमस्टे व्यवस्थापनमा जोड दिएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउन र पर्यटकलाई रारा क्षेत्रमा केही दिन घुम्न र रम्नका लागि योग्य वातावरण सिर्जना गर्न आफु लागिपरेको नगरप्रमुख भामले बताए । ‘रारा हाम्रो नगरपालिकाको मात्रै होइन देशको सम्पत्ति हो । पर्यटकलाई यहाँ आउन, घुम्न र केही दिन रम्न थप सहज बनाउँछौं ।’ नगरप्रमुख भामले अनलाइन सरोकारसँग भने, ‘विगतमा सरकारी क्षेत्रबाट राराको पर्यटन प्रवद्र्धनमा के कति काम भए त्यता नजाऔं अब मेरो पहिलो प्राथमिकतामा राराको पर्यटन प्रवर्द्धन हुन्छ । होमस्टे र कोशेलीघर व्यवस्थापनको अवधारणा त अघि बढिसकेको छ ।’ नगरपालिकाभित्र थुपै्र पर्यटकीय क्षेत्र रहेकाले पर्यटन मार्फत नै छायाँनाथ राराको समृद्धि सम्भव रहेको उनले बताए ।
रारा घुम्ने पर्यटकलाई स्थानीय उत्पादनको कोशेली दिने नगरप्रमुख भामको योजना छ । विगतमा सुरु भएका होमस्टेलाई व्यवस्थापन गर्दै थप परिस्कृत गर्ने, सल्लेरी, लामाचौडा ताल्चालगायतका ठाउँमा थप होमस्टे सञ्चालन गर्ने, ताल्चा विमानस्थलमा कोशेली घर स्थापना गर्ने र स्थानीय उत्पादनका परिकारको स्वाद लिँदै रारा घुम्न र राराबाट फर्कनेलाई कोशेली घरबाट स्थानीय उत्पादनका अर्गानीक सामाग्रीहरु कोशेलीको रुपमा लैजान सक्ने व्यवस्था मिलाइने उनले बताए ।
कर्णाली प्रदेशकै कान्छा मेयर भाम आफ्नो ५ वर्षे कार्यकालमा नगरपालिका समृद्ध बनाउने लक्ष्यका साथ पञ्चवर्षिय योजना बनाएर लागेका छन् ।
धार्मिक मान्यता अनुसार नेपालका महत्वपूर्ण चार धामहरु बराहक्षेत्र, पशुपतिक्षेत्र, मुक्तिनाथ क्षेत्र, ऋषिकेश÷रुरु क्षेत्र जस्तै छायाँनाथ पनि हिन्दूधर्मावलम्वीहरुको एउटा प्रशिद्ध धाम हो । आस्था र विश्वासको धरोहर छायाँनाथ ठाकुरको नित्य पुजाको लागि हालको छायाँनाथ रारा नगरपालिकाको वडा नम्वर दुईको चैन गाउँमा गाथ छ । मुगु कर्णाली नदी यहि नगरपालिका भएर बग्दछ । नेपालकै सबै भन्दा ठूलो रारा ताल रहेकोले सो ताल र छायाँनाथ देवताको संयुक्त अस्तित्वलाई मान्यता दिई दुवैको नामबाट यस नगरपालिकालाई छायाँनाथ रारा नामाकरण गरिएको हो । स्थानीय सरकारले पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचार-प्रसारमा जोड दिएको छ ।