२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भानु नगरपालिकाले दियाे कैदीलाई खाट



तनहुँको भानु नगरपालिकाले जिल्ला कारागार तनहुँलाई खाट हस्तान्तरण गरेको छ । कैदी बन्दीलाई सुत्नका लागि सहज होस् भन्ने उद्देश्यसहित नगरपालिकाले कारागारलाई खाट प्रदान गरेको हो ।

नगरप्रमुख आनन्दराज त्रिपाठीले १४ थान ‘डबल बेड’ साइजको खाट हस्तान्तरण गरेका छन् । उनले कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीलाई ती खाट हस्तान्तरण गर्दै नगरपालिकाले सामाजिक उत्तरदायित्वअन्तर्गत रु एक लाख बराबरको खाट सहयोग गरेको बताए । उनले भने, ‘कैदी बन्दीको सहजताका लागि विभिन्न पालिकाले सहयोग गरिरहेको थियो, कारागारका तर्फबाट हामीलाई पनि अनुरोध भएबमोजिम सहयोग गरेका हौँ ।’

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले कारागारलाई सुधार गृहको रूपमा विकास गर्ने योजना रहेको बताए । कारागारलाई यसअघि व्यास नगरपालिकाको तर्फबाट ४०, म्याग्दे गाउँपालिकाको तर्फबाट ११, बन्दीपुर गाउँपालिकाको तर्फबाट पाँच, क्रिष्टिना गुरुङको तर्फबाट छ थान खाट सहयोग भइसकेको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिकाले रु ५० हजार सहयोग गरेको थियो । देवघाट र घिरिङ गाउँपालिकालाई पनि सहयोगका लागि अनुरोध गरिएको निमित्त कारागार प्रमुख अधिकारीले बताए ।

कारागार तनहुँका कैदीबन्दीका लागि नयाँ भवन निर्माण भएको छ । यसअघि पुरानो भवन हुँदा क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण भुईँमा सुत्नुपर्ने बाध्यता थियो । एक सय ३५ जना क्षमताको कारागारमा हाल दुई सय ९५ कैदीबन्दी छन् । (ए) ब्लकमा एक सय २६, (बी) ब्लकमा एक सय ५० र (सी) ब्लकमा १९ जना कैदीबन्दी छन् ।

प्रकाशित मिति : २०७९, १७ माघ मंगलबार ००:००  १० : ११ बजे