काठमाडौं । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारी स्वरूप झिलिमिली बनाउन थालिएको छ ।
महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाउन थालिएको छ ।
मारवाडी समितिको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रमा फूलले सजावट गर्ने काम भइरहेको हो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई रङ रोगन गर्न थालिएको तथा बत्तीले सजाउने काम सुरु गरिएको छ ।
यसै गरी पशुपति क्षेत्रका भित्तामा रङ रोगन लगाउने तथा भत्किएका सिडी मर्मत गर्ने कार्य सुरु भएको सदस्य सचिव डा थापाले बताए ।
उनले भने, ‘पशुपतिनाथ क्षेत्रलाई रङ्गीचङ्गीसहित सजावट गर्ने काम सुरु भएको छ, अब केही दिनमा पशुपतिनाथ निकै झकिझकाउ देखिने छ ।’
यस वर्ष पशुपतिनाथमा १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने अनुमान समितिले गरेको छ । पशुपतिनाथ क्षेत्रमा झकिझकाउ गरिन थालिए पनि शौचालयको अभावमा समस्या हुने स्वयं कोषका कर्मचारी बताउँछन् ।
पशुपतिनाथ क्षेत्रमा फूलले सजावट गर्ने कार्यका लागि कम्तीमा पनि रु २० लाख खर्च आउने अनुमान गरिएको छ ।
यसै गरी यस वर्ष भगवान् पशुपतिनाथमा जगद्गुरु शङ्कराचार्य आउने भएपछि पशुपति क्षेत्रलाई झनै सुन्दर तथा झकिझकाउ गर्न थालिएको सदस्य सचिव डा थापाले जानकारी दिए ।
उनका अनुसार जगद्गुरु शङ्कराचार्य आउँदो फागुन ४ गते पशुपतिनाथमा आउने तथा यहाँ प्रवचन गर्ने कार्यक्रम तय गरिएको छ ।
महाशिवरात्रि आउन अझै समय भए पनि अहिले नै पशुपतिमा भक्तजनको निकै चहलपहल बढ्दै गएको छ ।
पशुपतिनाथमा छिमेकी मुलुक भारतबाट साधुहरू आउने क्रम बढेको बताइएको छ ।
पशुपतिनाथमा बत्तीसहित विभिन्न रङ्रोगनले सजावट गरिन थालेपछि अहिले यो क्षेत्र झनै मनमोहक र आकर्षक बनेको पशुपति क्षेत्र विकास कोषका सदस्य पूर्ण सङ्गम जेठाराले जानकारी दिए।
महाशिवरात्रिका लागि आएका साधु र सन्तले पशुपतिका कुना कुनामा भिड बढेको छ ।
हङ्स मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।