२०८१, १३ बैशाख बिहीबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिड्नीमा नेपथ्यको भव्य कन्सर्ट, पाँच हजार दर्शकमाझ प्रस्तुत भए अमृत गुरुङ



काठमाडौं । लोकपप ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सिड्नीस्थित होर्डन पभिलियनमा भव्य कन्सर्ट गरेको छ । कन्सर्टमा पाँच हजारभन्दा बढी दर्शक उपस्थित थिए ।

कन्सर्टबारे नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘तीन वर्षअघि सिड्नी कन्सर्टका बेला सम्पूर्ण टिकट इन्टरनेटबाटै बिक्री भएको देखेर मैले नेपाली संगीतमा नयाँ युग उदाएको महसुस गरेको थिएँ । यसपालि अघिल्लो दिन नै हाउसफुलको सूचना आइसकेको थियो ।’

प्रत्येक कन्सर्टमा नयाँ मानक प्रस्तुत गर्ने नेपथ्यप्रेमीले यसपटक पनि यो लोकप्रिय ब्याण्डसँगै रमाए । कतिपय गीतमा त मञ्चमा गाएको आवाजभन्दा तल श्रोताले गाएको आवाजको मात्रा चर्को सुनिन्थ्यो । ‘रेशम’ गाउँदा साथमा नगाएको कोही देखिंदैन थिए भने ‘तालको पानी’ र ‘मैं नाचें छमछमी’ गाउँदा नहल्लिएर बसेको कोही देखिंदैन थिए ।

ब्याण्डले उसको स्थापनाकै पहिलो सिर्जना ‘आँगनैभरि’ बाट कन्सर्टको थालनी गरेको थियो । त्यो गीतमा दर्शकको एकाकार आवाजले भव्य ‘कोरस’को सिर्जना गरेको देखिन्थ्यो । यो क्रमले ‘छेक्यो छेक्यो’ हुँदै अन्तिमको ‘रातो र चन्द्रसूर्र्य’सम्मै नयाँ पुराना सबै गीतमा निरन्तरता पाएको थियो ।

प्रस्तुतिलाई विशेष बनाउन सदावहार र नयाँ गीतको सन्तुलित चयन मात्र नभई प्राविधिक हिसाबबाट पनि अझ जोड दिइएको थियो । अष्ट्रेलियामा १३ सदस्यीय कलाकार, प्राविधिज्ञ र व्यवस्थापकको नेपथ्य टोलीले यात्रा गरिरहेको छ । अष्ट्रेलियाको व्यावसायिक राजधानी सिड्नीमा यो कन्सर्टले नेपथ्यको टुरलाई सफल बनाएको अनुमान गरिएको छ ।

नेपाली समुदायको उच्च बसोबास रहेको सिड्नीमा नेपथ्यले सन् २००९ मा आफूलाई पहिलोपटक प्रस्तुत गरेको थियो । त्यतिबेला एक विश्वविद्यालयको हलमा १२ सय दर्शक मात्र उपस्थित थिए । त्यसयता ब्याण्डले यो विशाल टापुरुपी मुलुकमा पाँचपटक यात्रा गरिसकेको छ ।

त्यसमध्ये सन् २०१२ विशेष उल्लेखनीय थियो, जतिबेला २२ सय क्षमताको सिड्नी टाउनहलमा दर्शक नअटाएर बाहिर रहन पुगेको भीडले निकै बेरसम्म ट्राफिक अस्तव्यस्त पारिदिएको थियो ।

त्यसपछि सन् २०१५ यता लुनापार्कको अडिटोरियममा बारम्बार प्रस्तुत भएको नेपथ्यले यसपालि पाँच हजारभन्दा बढी दर्शक अटाउने ‘होडर्न पभिलियन’मा फड्को मारेको हो ।

गायक अमृत गुरुङले कन्सर्टकै बेला पनि यसरी ‘ब्रेन’ र तन्नेरीको ‘ड्रेन’ छिट्टै थामिएर नेपाल आफैंमा अवसरले भरिएको एक समृद्ध मुलुक बन्ने विश्वास प्रकट गरे । सिड्नीको कन्सर्ट सम्पन्न भएसँगै नेपथ्य अष्ट्रेलिया श्रृंखला अब मेलबर्नतर्फ लम्किएको छ ।

प्रकाशित मिति : २०७९, २९ माघ आइतबार ००:००  १२ : ०५ बजे