२०८१, ११ बैशाख मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋणको ब्याजदर घट्यो



काठमाडौं । वाणिज्य बैंकहरुले ऋणको ब्याजदर घटाएका छन् । उच्च ब्याजदरले आक्रान्त भएको भन्दै केही ऋणीहरुले बैंकहरुविरुद्ध आन्दोलनसमेत गरेका थिए । ब्याजदर घटाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसमेत गुहारेका उनीहरुलाई बैंकले ब्याजदर घटाएपछि केही राहत पुग्ने देखिएको छ ।

सानिमा बैंकले आधारदरमा लिने गरेको अतिरिक्त प्रिमियममा २ प्रतिशतसम्म घटाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डेले यसअघि ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकोमा अब ४ प्रतिशतभन्दा बढी नलिने गरी व्यवस्था गरिएको बताए ।

‘जुन खालको ऋणमा ६ प्रतिशत प्रिमियम थियो । त्यसमा २ प्रतिशत घटेको छ । ५ प्रतिशत भएकोमा १ प्रतिशत घटेको छ र ४.५ प्रतिशत प्रिमियम भएकोमा ०.५ प्रतिशतले घटेको छ’, उनले भने ।

प्रिमियमसँगै ऋणको ब्याजदर पनि केही घटेको छ । अहिले सानिमा बैंकको आधारदर माघ मसान्तसम्मको तथ्यांकअनुसार १०.८५ प्रतिशतसम्म छ । यस आधारमा ४ प्रतिशत प्रिमियम थप्दा बैंकको अधिकतम ब्याजदर १४.८५ प्रतिशतसम्म हुन आउँछ ।

सिटिजन्स बैंकले पनि प्रिमियम घटाएको छ । बैंकका प्रवक्ता नारायण अधिकारीले प्रिमियम घटेको जानकारी दिए ।

सिटिजन्सले आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर लिँदै आएको थियो । उसको आधारदर ११.३९ प्रतिशत छ । उसले २ प्रतिशतसम्म प्रिमियम घटाएको जनाएको छ ।

त्यस्तै एभरेष्ट बैंकले १ प्रतिशत प्रिमियम घटाएको छ । उसले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज लिँदै आएको थियो । एभरेष्टको आधारदर ९.८६ प्रतिशत छ ।

बैंकहरुले प्रिमियम घटाएसँगै ब्याजदर पनि घट्ने संकेत दिएका छन् । प्रिमियम घटाएका बैंकहरुले ऋणीलाई ब्याजदर घटेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७९, २३ फाल्गुन मंगलबार ००:००  ३ : ५६ बजे