२०८१, १३ बैशाख बिहीबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘नो हर्न पालिका’ हुँदै तिलोत्तमा नगरपालिका



रुपन्देही । समुदायमा आधारित सरसफाई तथा हरियाली कार्यक्रम शुरुवात गरेर देशमै नमुना बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अभियानको १ सय औँ शृङ्खलालाई विशेष रूपले मनाउने तयारी गरेको छ । सरसफाई अभियानसँगै अब ‘नो हर्न नगरपालिका’ घोषणाको तयारी गरिएको छ ।

आगामी चैत १ गते पूरा हुने १ सयौँ दिनको संस्करण अन्तरगत सोही दिन तिलोत्तमालाई ‘नो हर्न नगर’ घोषणा गरिने भएको हो । सप्ताहव्यापी कार्यक्रमसहित अभियानको सयौँ दिनको संस्कार मनाउन लागेको तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाणले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रम अन्तरगत सचेतना अन्तरक्रिया, टेलिभिजन बहस कार्यक्रम, विद्यालयस्तरीय वक्तृत्वकला तथा कला प्रदर्शनी प्रतियोगिता, नगरस्तरीय सरसफाई र रक्तदान कार्यक्रमको तयारी गरिएको नगर प्रमुख खाणले जानकारी दिए ।

यसैगरी फागुन २८ गते सामुदायिक र संस्थागत विद्यालय तथा कलेज परिसर र शौचालय सरसफाई, २९ गते आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सहकार्यमा लक्षित समुदायलाई १ हजार थान कम्पोष्टविन वितरण र ३० गते मानव साङ्लोसहित सिक्सलेन सडक सरसफाई गरिने छ।

शृङ्खलाको १ सयौँ दिन चैत्र १ गते मूल समारोहसहित विशेष कार्यक्रम गरिने उपप्रमुख जागेश्वरदेवी चौधरीले बताए । मूल समारोहमा विभिन्न जातजाति तथा सांस्कृतिक झाँकी प्रदर्शन तथा अभियानमा सहभागी व्यक्तिहरूलाई सम्मान गरिने भएको छ । सोही दिन नै नगरमा कुहिने र नकुहिने फोहोर अलगअलग उठाउने कार्यक्रमको सुरुवात गरिने कार्यकारी प्रमुख नारायण अर्यालले बताए।

तिलोत्तमाका १९९ टोल विकास संस्थामार्फत हरियाली प्रवर्द्धन तथा सफाई अभियान सञ्चालन गरिएको सयौँ दिनको शृङ्खला मुल समारोह व्यवस्थापन समितिका संयोजक तथा कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए । नगरमा हाल ४० जना सरसफाइकर्मीद्वारा फोहर सङ्कलनको काम भइरहेको तथा १७ वटै वडामा फोहरमैला सङ्कलन तथा व्यवस्थापन हुँदै आएको उनको भनाइ छ । तिलोत्तमामा हाल दैनिक २८ टन कुहिने तथा नकुहिने फोहर उत्सर्जन हुँदै आएको छ । ०७४ साल साउन ६ गतेबाट सुरु भएको यो अभियानलाई १९९ टोल विकास संस्थामा पुराइएको छ ।

स्थानीयले तिलोत्तमाको सरसफाई अभियान नमुना भएपनि छिमेकी पालिकासँग समन्वय नभएको र पहिले सुरुवात गर्दाको ऊर्जा टोल विकासहरूमा कमी देखिएकोले जनप्रतिनिधिले सजगता अपनाउन सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०७९, २४ फाल्गुन बुधबार ००:००  ३ : ३७ बजे