काठमाडाैं । नेपाली कांग्रेसका नेता बहादुरसिंह लामाले आफ्नो चरीत्र हत्या गर्न खोजिएको बताएका छन् । लामाको नाम र फोटो जोडेर पर्वतको जलजलाका स्थानीयले मिलन चोक–सल्यान–घाखेल–धारापानी–ठोट्नेरी सडक १८ महिनादेखि अलपत्र पारेको भन्दै ठेकेदार हराएको सूचना बनाएर सामाजिक सञ्जाल मार्फत प्रचार गरेका थिए । सामाजिक सञ्जालमा आलोचना बढेपछि लामाले आफ्नो विरुद्धमा चरित्र हत्या गर्न एउटा गिरोह नै सकृय भएको तर उक्त आयोजना आफुले अलपत्र नपारेको दावी गरेका छन् ।
नुवाकोटबाट प्रदेश सांसदमा निर्वाचित भएर बागमती प्रदेशको कांग्रेस संसदीय दलको नेता भएपछि आफु निर्माण व्यवसायीको भूमिकामा नरहेको समेत लामाले प्रष्ट पारेका छन् । अनलाइन सराेकारसँग कुरा गदै कांग्रेस नेता लामाले भने, ‘जहाँ मेरो नाम जोडेर फोटोसहित ठेकेदार हराएको सूचना भनेर एउटा फण्डा फालियो त्यसमा सत्यता छैन । केवल म विरुद्धको गिरोहले मेरो चरित्र हत्या गर्न खोजेको मात्रै हो । मलाई जानकारी भए अनुसार उक्त आयोजना निर्माणाधिन अवस्थामा छ । त्यसको काम गर्ने समय थपिएको छ ।’ उनले भने, ‘म संसदीय दलको नेता निर्वाचित भएपछि निर्माण व्यवसायीको भूमिकामा पनि छैन ।’ लामाले चलाउँदै आएको निर्माण कम्पनी हिम्डुङ एन्ड थोकर निर्माण कम्पनीको जिम्मेवारी अहिले शिबहारी घिमिरे, सोर्नीम लामा र निर्मल सिटौलालाई सुम्पिएको बताए । लामाले आफु विकास निर्माणको पक्ष र विकास विरोधीको विपक्षमा रहेकाले संधै झुट र भ्रष्टको खेती गरेर कसैको चरित्र हत्या नगर्ने आग्रह गरेका छन् ।
स्रोतका अनुसार यसअघि हिम्डुङ एन्ड थोकर निर्माण कम्पनीको म्यानेजिङ डाइरेक्टरको भूमिकामा रहेका बहादुरसिंह लामा अहिले यो कम्पनीको सामान्य सेयर होल्डरको भूमिकामा मात्रै छन् ।
ठेकेदार हराएको भनिएको सडक निर्माणको यस्तो छ वास्तविकता :
स्थानीयले कांग्रेस नेता बहादुरसिंह लामाको कम्पनीले जिम्मा लिएको काम समयमा सम्पन्न नभएको भन्ने कोणबाट आवाज उठाए पनि उक्त आयोजनाको काम गर्ने समय अझै बाँकी छ । मिलन चोक–सल्यान–घाखेल–धारापानी–ठोट्नेरी सडक निर्माणमा लामाको संलग्नता नभएको देखिन्छ । उक्त सडक निर्माणको लागि निर्माण व्यवसायिको तर्फबाट सम्पूर्ण जिम्मेवारी तथा दायित्व बहन गर्ने गरि पुर्वाधार विकास कार्यालय पर्वतमा पर्वत जिल्ला जलजला गाउँपालिका वडा नं–४ का लालबहादुर मल्लले सम्झौतामा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कर्ता स्थानीय नै भएकाले उनै जिम्मेवार हुनुपर्ने बहादुरसिंह लामाको सचिवालयको दावी छ ।
यद्यपी लामाकै निर्माण कम्पनीबाट काम भएकाले आगामी मंसिर ५ गतेसम्म निर्माण कार्य सक्न कम्पनीले त्यहाँका कामको जिम्मा लिएका ठेकेदार लालबहादुर मल्ललाई भनिसकेको छ ।
सडक निर्माणकै क्रममा गतवर्ष बर्षातको समयमा सडकको केही ठाउँमा ठुलो पहिरो गएर काम अवरुद्ध भएको थियो । पहिरोको पन्छाएर काम गर्नेगरि स्वीकृत लागत ईष्टीमेट नभएपछि रोकिएको काम राज्यलाई थप आर्थिक भार नपर्नेगरि समय थप गरेर काम सम्पन्न गर्ने गरि सरकारले आयोजनाको म्याद थप गरेको थियो ।
याे हेर्नुहाेस्