काठमाडौं । उज्यालो ओखलढुंगा अभियान सफल बनाउन ओखलढुंगाबाट निर्वाचित सांसदहरु लागि परेका छन् । प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा र प्रदेशसभा सदस्य तथा प्रदेश १ का सभामुख बाबुराम गौतम आज विद्युत प्राधिकरण पुगेर ओखलढुंगाको विद्युतीकरणलाई प्राथमिकता दिन माग गरेका छन् ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई खतिवडा र गौतमले ओखलढुंगाका ७५ वटै वडामा केन्द्रीय प्रसारण लाइन विस्तार गरेर उज्यालो ओखलढुंगा अभियान सार्थक बनाउने कामलाई पूर्णता दिन ध्यानाकर्षण गराएका हुन् । भेटमा कार्यकारी निर्देशक घिसिङले यसअघि नै १ अर्व बजेट पठाएर टेन्डर भएको भन्दै काम समयमा सम्पन्न गर्न जिल्लामा सबै सरोकारवालाले भूमिका खेल्नुपर्ने बताए ।
भेटपछि सांसद खतिवडाले ओखलढुंगाका ८ वटै स्थानीय तहका प्रमुख र सरोकारवाला सम्मेलित बैठक बोलाएर विशेष छलफल गर्ने बताएका छन् ।
ओखलढुंगाबाट निर्वाचित सांसदहरुले विगत १० वर्ष देखि विद्युतीकरणको ऐजेण्डा बोक्दै आएका छन् ।