२०८१, १० बैशाख सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमतीमा कांग्रेसको दाबी, शालिकराम कि बहादुरसिंह मुख्यमन्त्री ?



काठमाडाैं । फेरिएको सत्तासमीकरणसँगै बागमती प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेसले दाबी रहेको जनाएको छ।

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सत्तासमीकरण परिवर्तन भएसँगै बागमती प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेसको दाबी रहेको बताए।

नयाँ पत्रिकासँग कुरा गर्दै उनले प्रदेशमा ठूलो दलको हैसियतमा बागमतीमा सरकारको नेतृत्व कांग्रेसले पाउनु स्वाभाविक भएको बताए।

‘यस विषषमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग पनि कुरा भइसकेको छ। उहाँले पहिले आफ्नो सरकारलाई विश्वासको मत दिएर वैधानिकता दिन आग्रह गर्नुभएको छ। त्यसपछि नेतृत्व परिवर्तनको विषयमा पनि छलफल गरौँला भन्नुभएको छ,’ नेता लामाले भने।

नेता लामाले मुख्यमन्त्रीसँग विश्वासको मत लिने दिन अझै एक–दुई दिन पर सार्न आग्रह गरेको पनि बताए। उनले विश्वासको मत लिने विषयमा छलफल नै नगरी मुख्यमन्त्री जम्कट्टेलले मिति तय गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे।

‘हामीले पार्टीमा आन्तरिक छलफल गर्न भ्याएका छैनौँ। केन्द्रमा सत्तासमीकरण परिवर्तन भएपछि उहाँले विश्वासको मत लिने विषयमा हामीसँग छलफल गर्नुपर्ने थियो । तर, छलफलविनै मुख्यमन्त्रीले विश्वासको मत लिने मिति तय गर्नुभयो,’ उनले भने, ‘हामीले भोलि ८ गतेभन्दा एक–दुई दिन अझै पर सारेर पहिले अन्य विषयमा छलफल गरौँ भनेका छौँ।’

नेता लामाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने विषय र सरकारमा सहभागिताका विषयमा प्रदेश समिति र संसदीय दलमा छलफलको तयारी भइरहेको बताए। उनले बागमती प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको विषयमा पार्टीसँग छलफल भइरहेको पनि जानकारी दिए।

‘हामी तत्कालीन गठबन्धनमा नरहे पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका थियौँ । अहिले पनि विश्वासको मत दिने कुरामा समस्या छैन, तर केन्द्रमा सत्तासाझेदार भएको नाताले हामीसँग छलफल र तयारी गर्नुपर्ने थियो । त्यसकारण हामीले मुख्यमन्त्रीसँग केही समय मागेका छौँ,’ उनले भने।

उनले प्रदेशमा अहिले पनि एमाले सरकारमा रहेकोले अन्याेल भएको बताए । केन्द्रीय सत्तासमीकरणबाट बाहिरिएको एमाले सरकारमै रहने कि बाहिरिने भन्ने भन्ने विषयमा पनि छलफल हुनुपर्ने नेता लामाको भनाइ छ। उनले मुख्यमन्त्रीले विश्वासको मत लिनुपूर्व गठबन्धन दलहरूबीच प्याकेजमा सहमति हुनुपर्नेमा बताए।

पहिले विश्वासको मत, नेतृत्व परिवर्तनमा केन्द्रको निर्णय : माओवादी केन्द्र

यता प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पहिले विश्वासको मत लिएर मात्रै बाँकी कुरामा छलफल हुने बताएका छन्। प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा केन्द्रीय सहमतिअनुसार नै हुने भएकाले आफू केन्द्रको निर्णय मान्न तयार रहेको बताए।

‘सरकारको नेतृत्व परिवर्तनको विषयमा केन्द्रले जे निर्णय गर्छ त्यही हुन्छ । तर, पहिला विश्वासको मत लिने काम सक्नुपर्छ । हामीले गठबन्धन दलहरूसँग यही विषयमा कुराकानी गरेका छौँ,’ उनले भने, ‘केन्द्रमा समीकरण परिवर्तन भएसँगै स्वाभाविकै रूपमा यसको प्रभाव प्रदेशमा पर्ने भएकाले हामी तयारी अवस्थामै छौँ।’

मुख्यमन्त्री जम्कट्टेलले चैत १३ गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेकाले पहिला विश्वासको मत लिन चाहेको बताए। विश्वासको मत लिने विषयमा पनि सबै दलसँग छलफल भइरहेको जानकारी दिए। उनले कांग्रेसले विश्वासको मत लिने दिन केही सार्न प्रस्ताव गरेको बताए।

‘कांग्रेसका साथीहरूले विश्वासको मत लिने दिने केही पर सार्न आग्रह गर्नुभएको छ। उहाँले सरकारमा समावेश हुने विषयमा प्याकेजमा छलफल गर्न चाहनुभएको होला। विश्वासको मत दिएर पनि छलफल गर्न सकिने भएकाले हामीले पहिला विश्वासको मत दिएरै छलफल गरौँ भनेका छौँ,’ मुख्यमन्त्री जम्कट्टेलले भने।

एमालेसँग पनि विश्वासको मतका विषयमा छलफल भएको बताउँदै उनले एमालेको धारणा मंगलबार साँझसम्ममा आउने जानकारी दिए । उनले एमाले सरकारमा रहने कि नरहने भन्ने विषयमा भने कुनै पनि छलफल नभएको बताए।

‘त्यो उहाँहरूको कुरा हो। हामीले सरकार छोड्नुस् भनेका छैनौँ, तर पछिल्लो घटनाक्रमले एमाले सरकारमा रहने सम्भावना भने कम छ,’ उनले भने, ‘सायद एमालेले विश्वासको मत दिने र सरकारमा रहने–नरहने भन्ने विषयमा एकैपटक निर्णय गर्ला।’

प्रकाशित मिति : २०७९, ७ चैत्र मंगलबार ००:००  ९ : ४३ बजे