२०८१, ६ माघ आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलित एक युवाको मृत्यु



काठमाडौं। कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएको बेला प्रहरीको लाठी प्रहारबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय पदमबहादुर लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो ।धरान उपमहानगरपालिका–१५ घर भएका लिम्बु लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् ।

कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएका थिए । लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको हो ।

पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले चैत ५ गते विराटनगरमा प्रदर्शन गरेको थियो । प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले चार राउण्ड हवाई फायर र दुई दर्जन सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रहरीले बल प्रयोग गर्दा लिम्बुको टाउकोमा चोट लागेको थियो । चोट लागेका उनी घरमै उपचाररत थिए । तर चैत ८ गते बेलुका अचानक बेहोस भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएका लिम्बुलाई शहीद घोषणा गर्दै घटनाको छानबिन गर्न प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले माग गरेको छ ।

प्रकाशित मिति : २०७९, १० चैत्र शुक्रबार ००:००  १२ : २० बजे