२०८१, २३ माघ बुधबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा दुर्घटनाकाे डरलाग्दाे तथ्यांक : ३ वर्षमा २६ को मृत्यु, ७० जना घाइते



ओेखलढुंगा । ओखलढुंगामा सवारी दुर्घटनाका घटना बढेका छन् । विगतको तुलनामा पछिल्ला वर्षहरुमा जिल्लामा सवारी दुर्घटना हुनेक्रम बढेको हो ।

पछिल्लो ३ वर्षमा २१ वटा सवारी दुर्घटनामा परि २६ जनाको ज्यान गएको छ भने ७० जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तंथ्याक अनुसार आर्थिक वर्ष २०७७-०७८ मा २ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८-०७९ मा ९ वटा सवारी दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । उक्त आर्थिक वर्षमा ४० जना घाईते भएका थिए । चालु आर्थिक वर्ष २०७९-०८० मा १० वटा सवारी दुर्घटना भएका छन् । यसवर्ष दुर्घटनाबाट ४ जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन् ।

जिल्लामा पछिल्लो समय सवारी दुर्घटनाका घटनाहरु बढेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक बहादुर केसीले बताए । सवारी धनी, चालक र यात्रु जिम्मेवार हुँदा मात्रै पनि दुर्घटना न्यूनिकरण हुने उनको भनाई छ । ‘पछिल्लो समय साना ठुला दुर्घटनाहरु भइरहेकै छन् यो राम्रो संकेत होइन तर प्रहरी एक्लैले यो समस्या समाधान गर्न गाह्रो छ ।’ प्रहरी प्रमुख केसीले भने, ‘सवारी धनीले आफ्नो सवारीको सुरक्षामा ख्याल गर्नुपर्छ, चालकले सवारी ठिक अवस्थामा राखेर क्षमता अनुसार सिमित गतिमा चलाउनुपर्छ र यात्रुले पनि कोचाकोच यात्रा गर्नुभएन । यत्तिमात्रै गरेपनि दुर्घटना धेरै कम हुन्छ र जनधनको क्षति हुनबाट बचाउन सकिन्छ ।’ प्रहरीका अनुसार दुर्घटना बढ्नुका विभिन्न कारणहरु छन् । त्यसमध्ये एक्सिलेटर भाँचिएर, लापरवाही पुर्वक सवारी चलाएर, सडकबाट खसी, पदैलयात्रीलाई ठक्कर दिएर (अनियन्त्रीत भई), अनियन्त्रीत भई बाटोबाट खसेर, माथिबाट ढुंगा खसेर, ब्रेक फेल र अनियन्त्रीत भएर बढी दुर्घटना हुने गरेको छ ।

कच्चि सडक, कोचाकोच यात्रु दुर्घटनाको कारक

फागुन २१ गते चिशंखुगढीको दियालेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो भने १२ जना घाइते भए । खानीभञ्ज्याङबाट ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो दुर्घटना हुँदा दुईजनाको घटना स्थलमै ज्यान गए थियो । चालकसहित अरु १२ जना घाइते यात्रुको अहिले काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भिर छ । खर्च अभावले उपचारमा समस्या छ । यो दुर्घटनाको प्रमुख कारण कच्चि सडकमा कोचाकोच यात्रु बोकेको भन्ने प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । ५ जनाको क्षमता भएको सवारीले १४ जना यात्रु र केही सामान समेत बोकेकाले क्षमता भन्दा बढी लोड भएर अनियन्त्रीत हुन पुगेको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक देवेन्द्र दास बताउँछन् । उनका अनुसार ग्रामिण क्षेत्रमा हुने सबैजसो दुर्घटनाको कारण कच्चि सडक र कोचाकोच यात्रु नै भएको देखिन्छ । ‘सडक मापदण्ड अनुसारका छैनन् । जथाभावी खनिएका सडकहरु साँघुरा, असाध्यै उकालो, ओरालो र घुम्ती नमिलेका छन् त्यस्ता सडकमा भेटेजति यात्रु कोचेर बोक्ने चलन छ त्यसैले दुर्घटना बढाएको छ ।’ उनले भने, ‘गाउँ गाउँका सबै सडकमा प्रहरी परिचालन हुने अवस्था छैन । यो जोखिमबाट बच्न नागरिक तहबाटै सचेतना अपनाउनु जरुरी छ ।’ जिल्लाका ८ वटै स्थानीय तहका ७५ वटै वडाका टोेलटोलमा सडक पु¥याइएको छ तर स्तरोन्नती नहुँदा जोखिमयुक्त सडकमै यात्रा गर्नुपर्ने जिल्लाबासीको बाध्यता छ ।

बीमा दावी नहुँदा उपचारमा समस्या

क्षमता भन्दा बढी यात्रु बोकेर दुर्घटनामा परेका सवारी धनीले घाइतेको उपचार गराउन सकेका छैनन् । धेरैजसो सवारी धनी आफैं चालक हुने, दुर्घटनामा चाकल समेत घाइते हुने र सिट क्षमता अनुसार मात्रै बीमा हुनेहुँदा कोचिएर बोकेका सबै यात्रुले बीमाको सुविधा नपाउँदा खर्च अभावले उपचारमा समस्या हुने गरेको छ । यसरी क्षमता भन्दा बढी यात्रु बोकेर दुर्घटना भएका सवारीले दुर्घटनामा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति समेत दिन सकेका छैनन् । प्रायः सवारीले बीमा कम्पनीसँग चाकल, यात्रु र सडकमा ठोक्किन सक्ने परिस्थितीको समेत आँकलन गरेर तेस्रो पक्ष बीमा गर्ने र दुर्घटनामा परे उक्त बीमा दावी गरेर पीडितलाई भुक्तानी गर्ने चलन छ । अझ कतिपय नीजि प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीले भाडाका यात्रु बोक्ने र दुर्घटनामा पर्ने गरेकाले त्यस्तो दुर्घटनाको बीमा दावी नहुने समस्या छ ।

ट्राफिकको आँखा छल्छन् चालक

सबैजसो चालकले नियम मान्नुको सट्टा ट्राफिक प्रहरीको आँखा छल्ने गरेका छन् । गाउँबाट सामान राख्ने ठाउँमा र छतमा समेत यात्रु राखेर ल्याउने सवारी चालकले सदरमुकाममा ट्राफिक देखिनु अघि नै यात्रु ओराल्ने गरेका छन् । ‘६ घण्टाको कच्चि सडकमा बोलेरोको पछाडी सामान राख्ने ठाउँमा कोचिएर आइयो । ट्राफिकको चेकिङ हुने बेलामा चाँही पल्लो घुम्तीमै हामीलाई ओरालेर अलिपर सम्म हिँड्न लगाइयो ।’ खिजीदेम्बाका फुर्वा शेर्पाले भने, ‘यसरी यात्रा गर्नु त राम्रो होइन तर नगरेर पनि त विकल्प छैन । गाउँमा बल्ल बल्ल एउटा बोलेर जान्छ सबैलाई यात्रा गर्नुपर्छ । सामान उत्तिकै हुन्छ ।’ यात्रुहरु जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । जिल्लाका सबैजसो गाउँमा ५ जनाको क्षमता भएका बोलेरो जीप पुग्छन् । ति सबै जीपले भेटेसम्म यात्रु बोक्छन् ।

ओरालोमा ब्रेकफेल हुने जोखिम

सोलुखुम्बुबाट सुनकोशी पुल सम्म करिब ८० किलोमिटर दुरी छ । सोलुको सल्लेरी र आसपासबाट छुट्ने सवारी ७० देखि ९० किलोमिटर ओरालोमा ब्रेकको सहारमा चल्नुपर्ने हुन्छ । लामो समय ब्रेक लगाउँदा तातेर ब्रेक फेलहुँदा सजिलो बाटोमा पनि दुर्घटना भएका छन् । ओरालोमा ब्रेकले काम नगर्दा सवारी नियन्त्रण बाहिर हुने खतरा रहेको चालक राजन श्रेष्ठको भनाई छ । अनुभवी चालकले सवारी सहजै चलाएपनि नयाँ चालकलाई यो सडकमा जोखिम हुने उनले बताए । ‘सोलु र ओखलढुंगाबाट छुटेको सवारी उदयपुरको घुर्मी नपुग्दा सम्म पुरै आरालोमा चलेको हुन्छ । यो सडकमा ब्रेककै सहाराले चल्ने हो । कहिलेकाँही ब्रेक तातेर फेलहुँदा समस्या हुन्छ ।’ उनले भने, ‘ओरालोमा पनि साँघुरो र घुम्तीहरु छन् । अहिले त सवारीको चाप पनि उत्तिकै छ । हामी यहि रोडमा चलाइरहनेलाई त खासै समस्या हुन्न नयाँ चालकलाई अलिक समस्या हुन्छ ।’ पर्यटकका रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्न र पूर्वको पशुपति खोटाङको हलेसी दर्शनका लागि आएका पर्यटक बोकेका नयाँ चालकले चलाएका रिजर्भ सवारीहरु पनि गतवर्ष दुर्घटनामा परेका थिए ।

यो सडकमा दुर्घटनाको जोखिम कम गर्न टाइम कार्ड लागू गरेको भएपनि प्रहरीसँगै मिलेर चालकले टाइम कार्ड लागू गरेका छैनन् ।

दुर्घटना न्यूनिकरणका लागि विशेष सडक सुरक्षा योजना ल्याउँदै प्रहरी

दुर्घटना बढेपछि ओखलढुंगा प्रहरीले विशेष सडक सुरक्षा योजना ल्याउने भएको छ । सुरक्षित सडक र सवारी विशेष अभियान ल्याउन गृहकार्य थालिएको ओखलढुंगाका प्रहरी प्रमुख दिपक केसीले बताए । ट्राफिक सचेतना, सवारी चेक जाँचमा कडाई, चालक सचेतना लगायतका अभियान सञ्चालन गरिने उनको भनाई छ । बढ्दो सवारी दुर्घटना, अव्यस्थित पार्किङ र जथाभावी भाडादरलाई नियन्त्रण गर्न प्रहरीले जिल्लाभर विशेष अभियान सञ्चालन गर्ने भएको हो ।

सीट क्षमता भन्दा बढी यात्रु बोक्ने चालकलाई कारवाही गर्ने, भाडादरमा एकरुपता ल्याउने, समय कार्ड लागू गर्ने, विद्यालय र समुदाय स्तरमा ट्राफिक सचेतनाका कार्यक्रम गरिने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०७९, ११ चैत्र शनिबार ००:००  ८ : ४० बजे