२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आन्दाेलनकारीको हत्या हुनु निन्दनीय : अशोक राई



जनता समाजवादी पार्टी, नेपालका सांसद अशोक राईले प्रदेश १ को नाम कोसी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्बूको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोप्रति आपत्ति जनाएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लिम्बूको प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भई ज्यान गएको उल्लेख गर्दै त्यस्ता खालको अमानवीय ज्यादती रोक्न सरकारसँग मागसमेत गरेका छन्।

गणतन्त्रमा पहिचानको अधिकार स्थापित गर्न शान्तिपूर्ण आन्दोलन गरिरहेकाहरूमाथि सरकारको दमनबाट ज्यान जानु अत्यन्तै निन्दनीय काम भएको उल्लेख गर्दै उनले आइन्दा यस्ता खालका घटना नदोहोर्‍याउन सरकारको ध्यानाकर्षण गराए।

‘प्रदेश नम्बर १ को नाम कोसी प्रदेश राख्ने निर्णय भएपछि सो नामको विरोधमा प्रचण्ड, तीव्र विरोध र संघर्षको कार्यक्रम चलिरहेको कुरा सर्वविदितै छ । गएको चैत्र ५ गते विराटनगरमा आयोजित शान्तिपूर्ण विरोध प्रदर्शनमा बर्बर ढंगले प्रहरीको प्रहार हुने अवस्था देखियो । र, सो दिन प्रदर्शनकारीहरूमध्ये यो संयुक्त संघर्ष समितिका एकजना सक्रिय नेता पदमकुमार लिम्बूको उहाँ संघीय लिम्बुवान मञ्चका नेता पनि हुनुहुन्थ्यो । उहाँको टाउकोमा गम्भीर ढंगले लाठी प्रहार हुन गएको थियो । र, उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत १० गते २ः४५ मा उहाँले सहादत प्राप्त गर्नुभएको छ । शान्तिपूर्ण ढंगले जनताले आफ्नो अधिकार माग्नु, आफ्नो पहिचान माग्नु उसको नैसर्गिक अधिकार हो । गणतन्त्र नेपालमा पहिचानको अधिकारका लागि लडेका लिम्बूको हत्या हुनु अत्यन्तै दुःखद छ । निन्दनीय छ,’ उनले भने ।

संघीय लिम्बुवान मञ्चका नेतासमेत रहेका लिम्बूको विराटनगरमा आन्दोलनको क्रममा प्रहरीको लाठी चार्जबाट टाउकोमा गम्भीर चोट लागेको थियो। उनको चैत १० गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो।

प्रकाशित मिति : २०७९, १२ चैत्र आइतबार ००:००  ४ : ४२ बजे