ओखलढुंगा । ओखलढुंगाको रामपुरमा सहिद गुरु लुइँटेल स्मृति पार्क बनाइने भएको छ । तत्कालिन विद्रोही पक्षले अपहरणपछि हत्या गरेका शिक्षक गुरु लुइँटेलको सम्झनामा पार्क बनाइने भएको हो ।
गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रको अगुवाइमा निर्माण हुने पार्कको सोमबार शिलान्यास गरिएको छ । २० लाखको लागतमा निर्माण हुने पार्कको मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राईले शिलान्यास गरेका हुन् । सहिद गुरु लुइँटेलहरुले मुलुक परिवर्तनका लागि जीवन बलिदानी दिएको इतिहासलाई सम्झँदै अहिलेको पुस्ताले सहिदका सपना साकार हुनेगरि काम गर्नुपर्ने अध्यक्ष राईले बताए । पार्क निर्माणका लागि नेपाल सरकारले प्रदेश पर्यटन मन्त्रालय अन्तरगत जिल्ला वन कार्यालय मार्फत रकम उपलब्ध गराउने बताइएको छ ।
सहिद गुरु लुइँटेल स्मृति पार्कको शिलन्यास कार्यक्रममा मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राई, वडा नम्वर २ का वडा अध्यक्ष टंकबहादुर कार्की, युवा नेता गोपाल नेपालसहित प्राध्यापक, शिक्षक, समाजसेवी लगायतको उपस्थिती थियो ।
तत्कालीन विद्रोही पक्षले एमाले निकट शिक्षक संगठन ओखलढुंगाका अध्यक्ष समेत रहेका लुइँटेललाई ०६० भदौ २२ गते विद्यालयबाट घर फर्किने क्रममा घोराखोरीबाट अपहरण गरेको थियो । उनलाई रामपुरमा लगेर बरको रुखमा झुण्डाई मारिएको थियो । हाल सोही स्थानमा लुइँटेलको अर्धकदको शालिक छ । शालिक भएकै ठाउँमा पार्क निर्माण गर्न लागिएको हो ।