लिखु ४ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सम्झौता अनुसार काम नगरेपछि खिजीदेम्बा गाउँपालिकाले सहमति कार्यान्वयन गर्न पत्र लेखेको छ । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले आयोजना सञ्चालक कम्पनी ग्रिन भेन्चर्स प्रा.लिलाई तत्काल सहमति कार्यान्वयन गर्न पत्र लेखेका हुन् ।
आयोजना सञ्चालन गर्नुपूर्व प्रभावित क्षेत्रमा भौतिक पूर्वाधार र सामाजिक विकासमा काम गर्ने सहमति गरेको लिखु ४ ले कुनै सम्झौता अनुसार कुनै काम नगरेपछि गाउँपालिकाले ध्यानाकर्षण गराएको हो ।
स्थानीय सरोकारवालाको माग सम्बोधन गर्दै आयोजनाले २०७७ साउन २६ गते स्थानीय स्तरमा विद्युत विस्तार देखि सडक पिच सम्मका काम गर्ने सहमति गरेको थियो । त्यसलगतै २०७७ भदौ १७ गते ग्रिन भेन्चर्सले गाउँपालिकालाई पत्र पठाएर प्रभावित क्षेत्रमा गर्ने कामबारे जानकारी गराएको थियो । तर कुनै काम हालसम्म नगरेपछि पत्र लेखेर सहमति कार्यान्वयन गर्न सुझाएको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए ।
अध्यक्ष शेर्पाले प्रभावित क्षेत्रमा तत्काल विद्युत विस्तार गर्न, लिम्ती विमिरे विद्युत प्रसारण लाइन ११ केभिए विद्युत उपलब्ध गराउने सहमति कार्यान्वयन नगर्नुको लिखित जवाफ १५ दिन भित्र पेश गर्न, पूर्वसहमति अनुसार लेती खोला र एलुङ खोलामा स्वागतद्वार निर्माण गर्न, लिखु गाउँपालिकाको सिमाना देखि जिलीडाँडासम्म कालोपत्रेको काम तत्काल सम्पन्न गर्न, स्थानीय सरकार, सरोकारवाला र जनप्रतिनिधि र स्थानीय समुदायसँग आयोजनाले पटक–पटक गरेका प्रतिवद्धता पुरा नहुनुको कारण समेत लिखित रुपमा माग गरेका छन् ।
अन्तरािष्ट्रय श्रम संगठन (आइएलओ) महासन्त्री १६९ अनुसार आयोजना प्रभावित क्षेत्रका सरोकारवालालाई पूर्व सूचित सूचनाको अधिकार हुनुपर्नेमा स्थानीयलाई झुक्यानमा पारेर आयोजनाले लाभ लिने कार्य मात्रै गरेको भन्दै गाउँपालिकाले चेतावनी पूर्ण पत्र पठाएको छ ।
लिखु ४ ले आयोजनाबाट विद्युत उत्पादन गरेर लाभ लिन सुरु गरेपछि प्रभावित क्षेत्रमा कुनै काम गरेको छैन । संस्थापक शेयर वितरण गर्दा समेत आयोजनाले खिजीदेम्बाका जम्मा २ वटा वडालाई मात्रै समेटेको थियो ।
लिखु ४ का विषयमा नागरिक स्तरबाट पटक–पटक व्यापक विरोध भएपनि गाउँपालिकाले पहिलो पटक स्थानीयको माग बमाजिम नेतृत्वदायी भूमिका खेलेको छ ।
स्थानीय अगुवाहरुले नै आयोजनाबाट व्यक्तिगत लाभ लिएर प्रभावित क्षेत्रमा हुने काम नगर्दा पनि हुने गरि सहज बनाइदिएको स्थानीयले आरोप लगाउने गरेका छन् ।