२०८१, २२ माघ मंगलबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अरनिका अध्यक्ष केदार क्षेत्री भन्छन् ‘कि मिल्छु, कि निल्छु तर यातायात क्षेत्र सुधार्छु’

व्यवसायीका सुझाव नसुनेकाे भन्दै सरकार विरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने तयारी



पूर्व अरनिको यातायातका अध्यक्ष केदार क्षेत्री सार्वजनिक यातायात सुधारमा लागेका छन् । लामो समय यातायात क्षेत्रमा काम गरेका अध्यक्ष क्षेत्री सार्वजनिक यातायातमा देखिएका समस्याको पहिचान गर्दै सुधार र व्यवस्थापनमा जुटेका हुन् ।
यात्रुका लागि सुलभ र गुनासोरहित यातायात सेवा, दुर्घटना न्यूनिकरणका लागि पहल गर्ने देखि सार्वजनिक यातायातको दिगो व्यवस्थापनका लागि राज्यका अपर्याप्त नीतिलाई संशोधन गरेर आवश्यक नीति निर्माणका लागि सरकारलाई सुझाव दिने सम्मका कार्ययोजना बनाएर अध्यक्ष क्षेत्री अघि बढेका छन् ।

राजधानीमा १ महिना भित्र व्यवस्थित बसपार्क निर्माण गर्ने, देशका विभिन्न क्षेत्रमा अरनिको यातायातको सेवा विस्तार गर्ने, यातायात कम्पनीलाई प्रविधिमैत्री बनाउने, चालक र सहचालकलाई यात्रु गर्ने व्यवहार, दुर्घटना न्यूनिकरणका लागि खेल्नुपर्ने भूमिका, ट्राफिक नियमका बारेमा सचेतिकरण, यातायात क्षेत्रका मजदुरका बालबालिकालाई निःशुल्क शिक्षा लगायतका महत्वकांक्षी योजना अघि सारेका अध्यक्ष क्षेत्रीले यातायात क्षेत्रमा अब्बल काम गर्न नसके सार्वजनिक पदमा नबस्ने समेत घोषणा गरेका छन् ।

दश वर्षपछि अरनिको यातायातको पूनः अध्यक्ष भएका क्षेत्रीले अनलाइन सरोकारसँग कुरा गर्दै आफु पद प्राप्तीका लागि मात्रै यातायातमा नफर्किएको बताउँदै सबैपक्षसँग मिलेर यातायात क्षेत्रलाई व्यवस्थित बनाउने बताए । ‘म १० वर्षपछि फेरि अरनिको अध्यक्ष भएँ । यहाँ पद पाउन आएको होइन केही सुधार गरेर देखाउँ भनेर आएको हुँ । यदि केही गर्न सकिन भने पदबाट राजीनामा दिन्छु भन्ने अठोट गरेको छु ।’ उनले भने, ‘यातायात क्षेत्रमा थुप्रै समस्या छन् तर समाधानका उपाय पनि हामीसँगै छन् । अबको केही समयमा हामी सुधारका संकेत देखाउँछौं । सबैको म जिम्मा लिन्न तर अरनिको यातायात प्रति गुनासो गर्ने ठाउँ राख्दिन ।’ राज्यको नीति फितलो हुँदा र सरोकारवाला जिम्मेवार नहुँदा यातायात क्षेत्रमा समस्या बढेको उनको तर्क छ । नीति निर्माणका लागि व्यवसायीका सुझाव नसुन्ने सरकारलाई सर्वोच्चमा मुद्दा हालेर भएपनि काम गर्ने उनको योजना छ ।

अरनिको यातायातले तत्काल सेवा विस्तार गर्ने भएको छ । काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, ओखलढुंगाको पश्चिमी क्षेत्र र आसपासमा सेवा दिँदे आएको अरनिकोले अब ओखलढुंगासहित हाल सेवा दिइरहेका जिल्लाका सबै क्षेत्रमा सेवा विस्तार गर्ने भएको छ । स्थानीय तह र यात्रुहरुबाटै अरनिको यातायातको माग भएकाले सेवा विस्तारमा लागेको अध्यक्ष क्षेत्रीले बताए । सबैठाउँमा समन्वय गरेर सेवा सुरु गर्ने उनको भनाई छ । ‘यातायात व्यवसायिलाई अनेक आरोप लाग्ने गरेका छन् । त्यो भिडमा हामी गुणस्तरिय सेवा दिइरहेका छौं तर मुल्याङ्कन गर्ने राज्यको संयन्त्र छैन । धेरैठाउँबाट स्वस्फुर्त हामीलाई माग भएकाले माग गरिएका क्षेत्रमा हामी सेवा विस्तार गर्दैछौं ।’ उनले भने, ‘अहिले सञ्चालनमा रहेका व्यवसायी, स्थानीय तह र प्रशासनसँग छलफल गरेर मात्रै हामी नयाँ ठाउँमा जान्छौं । सकेसम्म सबैसँग मिलेर जाने नसके निलेर जाने तर यातायात क्षेत्रको सुधार गरेरै छाड्ने हो ।’ व्यवसायीले पुराना सवारी चलाउँदा दुर्घटना बढेको भन्दै पुराना सवारीको विस्थापन गरेर नयाँ सुविधासम्पन्न सवारी किन्ने अरनिको तयारी छ ।

अरनिको यातायात सेवा समितिको रुपान्तरित कम्पनी पूर्व अरनिको यातायात कम्पनी प्रालिको अध्यक्षमा क्षेत्री १० वर्षपछि फेरि नेतृत्वमा पुगेका हुन् । गत भदौमा भएको निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै क्षेत्रीले अध्यक्षमा जित हासिल गरेका थिए ।
२०२९ सालमा स्थापना भएको अरनिको यातयातमा चार कार्यकाल सचिव र तीन पटक अध्यक्ष भइसकेका क्षेत्री अरनिको समितिको अध्यक्षमा १० वर्षपछि पुनः ‘कम ब्याक’ भएका हुन् । अरनिकोमा ५८३ भन्दा बढी व्यवसायी आवद्ध छन् ।

२०७४ को स्थानीय निर्वाचनमा क्षेत्री सिन्धुपाल्चोकको बलेफि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । अहिले संसदीय राजनीति छाडेर फेरि यातायात क्षेत्रको सुधारको एजेण्डा बोकेर व्यवसायमा फर्किएका छन् ।

अरनिको यातायातले दुर्घटनामा परेर घाइते भएकाको उपचार, अंगभंग भएकालाई आजीवन मासिक भत्ता, चालकका लागि १० लाख सम्मको बीमा, मजदुरका परिवारलाई निःशुल्क शिक्षा जस्ता कार्यक्रम चलाइरहेको छ ।

प्रकाशित मिति : २०७९, १७ चैत्र शुक्रबार ००:००  १२ : ३४ बजे