२०८१, २२ माघ मंगलबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अशोक राईको अभिव्यक्तिले कोशीमा तरंग : जाेगिएला त एमाले सरकार ?



विराटनगर । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले आइतबार विराटनगर आएर संघ र प्रदेशमा छुट्टै गठबन्धन हुन सक्ने बताएपछि कोशी प्रदेशमा तरंग पैदा भएको छ । कोशी प्रदेशसभामा एक सिट रहेको जसपा सरकार गठन र विघटनका लागि निर्णयक छ ।

सत्ता गठबन्धन दलले प्रदेश सरकार परिवर्तनको गृहकार्य गरिरहेका बेला जसपा संघीय परिषद् अध्यक्ष राईले संघ र प्रदेशमा छुट्टा छुट्टै सहमति हुनसक्ने अभिव्यक्ति दिएका हुन् ।

‘प्रदेश भनेको छुट्टै आफ्नो अस्तित्व भएको सरकार हो नि, आफ्नो छुट्टै अस्तित्व भएको निकाय हो’, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका राईले विराटनगर विमानस्थलमा भने, ‘स्थानीय तहको सरकारमा फरक ढंगको गठबन्धन होला, प्रदेशमा फरक ढंगको गठबन्धन होला, केन्द्रमा फरक ढंगबाट होला, यो केन्द्रको मातहतको इकाई त होइन नि ।’

कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकार परिवर्तनको गृहकार्य गरिरहेका छन् । दुवै दल आफ्नो नेतृत्वमा सरकार बनाउने दाउमा छन् । तर जसपा संघीय परिषद अध्यक्ष राईको अभिव्यक्तिले सरकार परिवर्तनको गृहकार्य गरिरहेका दलका नेतालाई निराश बनाएको छ

एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा माओवादी केन्द्र, राप्रपा र जसपा छन् । माओवादी केन्द्र र जसपा संघमा बनेको नयाँ सत्ता समीकरणमा छन् । माओवादी र जसपा दुवैले सरकार छाडेमात्रै कार्की अल्पमतमा पर्छन् । जसपा मात्रै सरकारमा बसे कार्कीको बहुमत पुग्छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । एमालेका ४० र राप्रपाका ६ सांसद छन् । जसपा सरकारमा बसे बहुमत पुग्छ ।

राईको भनाइप्रति जसपाकै नेताहरु पनि आश्चर्यमा छन् । ‘नयाँ समीकरण बने पनि उहाँमा (अशोक राई) एमालेप्रतिको मोह सकिएको छैन’, जसपाका कोशी प्रदेशका एक नेताले भने, ‘पहिचान पक्षधरले सरकार छाड्न दबाब दिइरहेका छन्, अध्यक्षको अभिव्यक्तिले राम्रो सन्देश गएन ।’

४ मंसिरको प्रतिनिधिसभामा सुनसरी १ बाट निर्वाचित राई एमाले–जसपाका साझा उम्मेदवार थिए । चुनावअघिसम्म कांग्रेस–माओवादीसहितको गठबन्धनमा रहेको जसपाले चुनावको मुखैमा एमालेसँग तालमेल गरेको थियो । चुनाव सकिएपछि अध्यक्ष उपेन्द्र यादवले एमाालेसँग सहकार्य सकिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए भने राईले त्यसको खण्डन गर्दै एमालेसँग सहकार्य नसकिएको अभिव्यक्ति दिएका थिए ।

नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो प्रदेश सरकारबारे केन्द्रमा सत्ता गठबन्धनमा निर्णय हुने भएकाले जसपा अध्यक्ष राईको भनाइको अर्थ नहुने बताउँछन् । उनले सरकारका विषयमा केही दिन भित्र टुङ्गो लाग्ने बताए ।

९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकिकृत समाजवादी पार्टीका ४ र जसपाका एक सांसद छन् ।

प्रदेशमा माओवादी केन्द्रका सभामुख छन् । सभामुखले सरकार गठन प्रक्रियामा सहभागी हुन नपाउने भएका कारण कांग्रेस र माओवादीले राप्रपासँग नयाँ समीकरणका लागि छलफल गरिरहेका छन् ।

कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्की पनि सत्ता गठबन्धनकै सरकार बन्ने बताउँछन् । त्यसका लागि राप्रपासँग छलफल सकारात्मक रहेको पनि बताए ।

प्रकाशित मिति : २०७९, २० चैत्र सोमबार ००:००  १२ : ५१ बजे