बझाङ । बझाङको केदारस्युँ गाउँपालिकाले कार्यालयको काम सुरु गर्नु अघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ । राष्ट्रिय गानको सम्मान र जिम्मेवारीता बढाउन कार्यालय सुरु हुनुअघि राष्ट्रिय गानमा सरिक भएर मात्रै कर्मचारी र जनप्रतिनिधिले काम सुरुवात गर्न थालेका हुन् ।
गाउँपालिकाले कार्यालय समय सुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको जनाएको छ । प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी अघि बढिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले बताए । उनले राष्ट्रिय गान पश्चात गाउँपालिकाको सेवा प्रवाह तथा गतिविधिबारे कर्मचारीहरुलाई जानकारी गराउन पनि सहज हुने बताए ।
सबै कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुन गाउँपालिकाले निर्देशन समेत दिएको छ ।