डोल्पा । जिल्लाको ठुलिभेरी नगरपालिकाका तीनसय घरधुरीलाई ग्यास चुलो वितरण गरिएको छ । बुधबार वडा नं ५ का अध्यक्ष भिमबहादुर रोकायको अध्यक्षता तथा नगरप्रमुख सुवर्ण बुढाको प्रमुख आथित्यमा आयोजित एक घर एक ग्यास चुलो वितरण कार्यक्रममा तीनसय घरधुरीलाई एक थान सिलिन्डर र चुलो निशुल्क वितरण गरिएको हो ।
वडाको २१ लाख र नगरको ७ लाख गरेर २८ लाख बजेटमा सिलिन्डर र चुलो बाँडिएको वडाध्यक्ष भिमबहादुर रोकायले जानकारी दिए । ग्यास सिलिन्डर र चुलो वितरण गर्नुको मुख्य उदेश्य दाउराका लागि बर्षेनी मासिंदै गएको बनजंगल जोगाउनु रहेको उनको भनाइ छ ।
बर्षौंदेखि दाउराको खुला चुलोबाट निस्केको धुवाँले ग्रामीण महिलाको स्वास्थ्यमा गम्भीर असर परेकाले पनि यसलाई न्युनिकरण गर्न पनि ग्यास वितरण गरिएको रोकायको भनाई छ ।
यससँगै माझफाल स्वास्य चौकी, प्रहरी चौकी, बिद्यामन्दिर माध्यामिक बिद्यालय, सहिद शुक्रराज आधारभुत बिद्यालय लाहारा, महादेब आधारभूत बिद्यालयलाई पनि चुलो र सिलिन्डर बाँडिएको वडाका कर्मचारी रेखामान बुढाले जानकारी दिए ।
एक घर एक ग्यास चुलो तथा सिलिन्डर वितरण कार्यक्रममा ७,८ र ९ नंम्बर वडाका अध्यक्षहरु समेत सहभागी भएका थिए ।