२०८१, १ असार शुक्रबार | Sat Jun 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५२ जिल्लामा फैलियो डेंगु



काठमाडौं । गत वर्ष असारदेखि फैलिएको डेंगुको संक्रमण यस वर्ष भने बर्खा नलाग्दै सुरू भइसकेको छ । यस वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत बर्षजस्तै प्रकोपको रूप लिने स्वास्थ्य क्षेत्रका अधिकारीहरुको चिन्ता छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ पुसदेखि हालसम्म ५२ जिल्लामा डेंगु संक्रमित फेला परिसकेका छन् । महाशाखाका किटजन्य रोग विशेषज्ञ डा. गोकर्ण दाहालका अनुसार यो वर्ष हिउँदमा समेत केस शून्यमा झरेन ।

जाडो मौसममा पनि डेंगु शून्य नहुनुले समुदायमा लामखुट्टेले प्रशस्त मात्रामा अण्डा पारिरहेको विज्ञहरु बताउँछन् । संक्रमित लामखुट्टेले पार्ने अण्डा पनि संक्रमित नै हुन्छन् । त्यसको अण्डाबाट लार्भा, प्युपा हुँदै लामखुट्टे भएर सीधै डेंगु भाइरस सार्न सक्छ ।

लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआएसम्म सुरक्षित रहने भएकाले १० महिनासम्म जम्मा भएर बसेको अण्डा पानी पर्ने बित्तिकै हुर्कन थाल्छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अघिल्लो बर्ष नै लामखुट्टेले समुदायमा प्रशस्त अण्डा पारेका छन् । ‘प्रि मौसम सुरू हुने र गर्मी बढ्नासाथ अण्डाहरू लार्भा, प्युपा हुँदै लामखुट्टे बन्छन्’, डा. पुनले भने, ‘विगतका अनुभवले यस्तै देखाइरहेको छ । सरकारले अहिले नै सक्रिय नहुने हो भने प्रकोपको रूप लिन्छ ।’

जनवरी १ देखि अहिलेसम्मको तथ्यांक हेर्दा ५०१ जना डेंगु संक्रमित केस देखिइसकेको छन् । जाडो र त्यसपछिका साढे तीन महिनामा करिब पाँच सय मानिसमा डेंगु संक्रमण हुनुले अबका महिनामा संक्रमणको जोखिम बढ्ने आंकलन गरिएको छ ।

अघिल्ला बर्षको पुस यता तथ्यांक हेर्दा ७० जना हाराहारीमा मात्रै संक्रमित देखिएका थिए । जबकि, सो संख्या बढेर अहिले ५ सय नाघिसकेको छ ।

‘पुस, माघ महिनामा कहिल्यै पनि केस शून्य भएन । अघिल्लो बर्षको यही समय तथ्यांकलाई हेर्दा यसबर्ष संक्रमित संख्या तीब्र गतिले बढेको देखिन्छ । यसकारणले पनि यसबर्ष चूनौतीपूर्ण रहेको देखिन्छ,’ महाशाखाका किटजन्य रोग विशेषज्ञ डा. दाहालले भने ।

संक्रमण देखिनेमा काठमाडौं उपत्यकासहित दार्चुला, म्याग्दी, लगायतका ५२ जिल्लाका ११२ पालिका छन् । डा. दाहालका अनुसार दार्चुलामा १७१ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा भने ५० भन्दा कम केस छन् ।

महाशाखाको तथ्यांक अनुसार सन् २०२२ मा ५४ हजार ७८४ जनामा संक्रमण देखियो । तीमध्ये ८८ जनाको मृत्यु भयो । संक्रमित र मृत्युको यो संख्या नेपालमा डेंगु संक्रमण सुरु भएको सन् २००४ यताकै धेरै हो । तर, समुदायस्तरमा फैलिएको संक्रमणको गणना गर्ने हो भने गत वर्ष झन्डै दुई लाख जनसंख्या संक्रमित भएको विज्ञहरूको आंकलन छ ।

अघिल्लो बर्ष डेंगु महामारी नियन्त्रणमा सरकारी संयन्त्र पुरै असफल देखिएको थियो । काठमाडौं उपत्यकामा डेंगु संक्रमितको उपचारका लागि अस्पतालमा शय्या अभाव भयो । समयमै उपचार सेवा पाउन नसकेका कारण धेरैको मृत्यु भयो ।

अघिल्लो बर्ष डेंगु नियन्त्रणका लागि केन्द्र सरकारले स्थानीय तहमा पठाएको रकम सकिसकेको छ । अब डेंगु प्रकोप सुरू हुँदै गर्दा नियन्त्रणका लागि स्थानीय तहसँग बजेट शून्य छ ।

‘डेंगु संक्रमण बिस्तारै बढ्दै गएको छ । तर, नियन्त्रणका लागि अहिले नै केन्द्र सरकारले बजेट पठाउन सक्ने अवस्था छैन । अर्को आर्थिक बर्ष सम्म कुरेर बस्दा डेंगु फैलिसक्छ । यो हाम्रो लागि अर्को चुनौती हो,’ डा. दाहाल भन्छन् ।

तर, अघिल्ला बर्षमा झैं संक्रमणले महामारीको रूप नलियोस् भन्नका लागि अहिलेदेखि नै सरोकारवालाहरूसँग समन्वय र सहकार्य थलिएको उनको भनाइ छ । डेंगु नियन्त्रणका लागि स्थानीय तहका स्वास्थ्य संयोजक तथा जिल्ला तथा प्रदेशका उच्च अधिकारीसँग समन्वयमा लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन सुरू भइसकेको दाहालले जानकारी दिए ।

तर, विगतका बर्षझैं यो बर्ष पनि डेंगु महामारीको जोखिम नै रहेको महाशाखाका अधिकारी स्वीकार गर्छन् । ‘विगतमा भएका डेंगु प्रकोपका अनुभवले पनि दुई–दुई बर्षमा आउटब्रेक भएको देखिन्छ । तर, यसो भन्दै गर्दा यो बर्ष जोखिम नै छैन भनेर यकीन गर्न सकिँदैन’, डा. दाहालले भने ।

दिउँसो टोक्ने लामखुट्टे…

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् ।

डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विज्ञका अनुसार बिहान घाम उदाएपछि र बेलुका अस्ताउनुको करिब दुई घण्टा अघि समयमा लामखुट्टे बढी सक्रिय हुन्छ । दिउँसो काममा व्यस्त भएकाले त्यही बेलामा टोक्ने गर्छ ।

‘अझै पनि मानिसमा लामखुट्टेले बेलुका मात्रै टोक्छ भन्ने आम मानिसको सोच छ । त्यसलाई परिवर्तन ल्याउन जरूरी छ । हामी दिउँसो नै बढी काममा व्यस्त हुन्छौं । त्यही समयमा लामखुट्टेको टोक्ने समय हो । घर, विद्यालय, कार्यालयमा पनि लामखुट्टेले टोक्ने हुँदा त्यस वरपर पानी जम्न दिनुहुँदैन’, डा. पुनले भने ।

दुई दशक अघिसम्म काठमाडौं उपत्यकामा विरलै बाहेक लामखुट्टे पाइँदैनथ्यो । पहाडी र हिमाली जिल्लामा कीराहरूबाट सर्ने ‘कीटजन्य रोग’ सायदै फैलिने गरेको थियो । तर, केही वर्षयता तराईका भू–भागमा मात्रै हुने भनिएका रोगहरू पहाड हुँदै हिमाली क्षेत्रसम्मै पुगिसकेका छन् ।

जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व र अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, वर्षा लामो समयसम्म हुने र प्रि मनसुन अगाडि भएका कारण, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारकतत्व छन् ।

डेंगुले हरेक वर्ष सताउँछ, कीट रोग विशेषज्ञ शून्य

डेंगु नियन्त्रणका लागि इन्टोमोलोजिस्ट (कीट विज्ञान विशेषज्ञ) को ठूलो भूमिका हुन्छ । तर, स्वास्थ्य मन्त्रालयमा इन्टोमोलोजिस्ट दरबन्दी नै छैन ।

नेपालमा संघीयता लागू हुनुभन्दा अगाडि स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न निकायमा भेक्टर कन्ट्रोल सुपरभाइजर र इन्टोमोलोजिस्टको दरबन्दी थियो । उक्त विज्ञले कीटजन्य रोगको नियन्त्रणका लागि काम गर्दै आएका थिए ।

तर, सरकारले संघीयतापछि भएका भेक्टर कन्ट्रोल सुपरभाइजर र इन्टोमोलोजिस्ट दरबन्दी हटायो । अन्य जनशक्तिले कीट रोग सम्बन्धी काम गर्न नसक्दा पनि डेंगुको संक्रमण नियन्त्रण गर्न गाह्रो भएको विज्ञको दाबी छ ।

विज्ञका अनुसार इन्टोमोलोजिस्टले डेंगु जस्ता कीटजन्य रोग नियन्त्रण प्रकोप फैलिएको ठाउँमा औषधि छर्ने, संक्रमितको तथ्यांक संकलन गर्ने तथा अध्ययन, अनुसन्धान र बहुक्षेत्रीय सहकार्यमा नियन्त्रणका कार्यक्रम सञ्चालन गर्छन् । सरकारी तथ्यांक अनुसार संघीयता अगाडि विभाग, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयमा ३७ जना इन्टोमोलोजिस्ट कार्यरत थिए ।

डेंगुबाट कसरी बच्ने ?

चिकित्सकहरुका अनुसार १० हजार मानिसलाई डेंगु भयो भने १ हजारमा मात्र लक्षण देखा पर्छन् । बाँकी ९ हजार मानिसमा लामखुट्टेलाई संक्रमण गर्न सक्ने क्षमता हुन सक्छ । सुरुमा भाइरस छिरेपछि शरीरमा रोगसँग लड्ने क्षमता (एन्टिबडी) नबन्दासम्मको समयमा लामखुट्टेले टोकेमा शरीरको भाइरसले लामखुट्टेमा संक्रमण हुन्छ । एक पटक लामखुट्टे संक्रमित भएपछि उसका वंशजहरूमा समेत संक्रमण हुने गर्छ ।

डेंगु संक्रमणपछि ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, मांसपेशी र हड्डी दुख्ने, जोर्नी दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने र ज्वरो घटेको २–४ दिनमा शरीर चिलाउने र राता दानाहरू आउने हुन्छ ।
यिनीहरूमा सानो संख्यामा हेमोह्रेजिक ज्वरो आउन सक्छ र तिनीहरूमा केही मानिस रक्तनलीबाट पनि बाहिर निस्केर फोक्सो र पेटमा पानी जमेर रक्तचाप घट्न सक्छ ।

डेंगु संक्रमित व्यक्तिमा श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगेजस्तो हुने, कालो खालको दिसा आउने, उल्टी हुँदा रगत देखिने, बिरामी मूच्र्छा हुनेलगायत लक्षण देखिएमा जटिल हो भनेर चिन्न सकिन्छ । यस्ता लक्षणका संक्रमितलाई भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ ।

खासमा डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाह अनुसार निगरानीमा रहँदा संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिने उनको भनाइ छ ।

डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ ।

पानी राख्ने भाँडाहरु जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्नेगरी राम्ररी छोपेर राख्नुपर्छ । शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।

त्यसैगरी, कोठाभित्र लामखुट्टे भगाउने धुप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउनुपर्छ । पूरै शरीर ढाक्ने लुगा उपयुक्त हुन्छ । लामखुट्टेले फुल पार्नसक्ने सम्भावित घर र विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाडाहरु खोजी खोजी सफा गर्नुपर्छ ।

प्रकाशित मिति : २०८०, ६ बैशाख बुधबार ००:००  ७ : ४१ बजे