बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले संघीय सरकारबाट आवश्यक अधिकार नपाउँदा प्रदेशमा औद्योगिक विकास र उद्यमशीलता प्रवद्र्धनमा अवरोध भएको बताएका छन् । हेटौँडामा आयोजना भएको युवा सम्मेलन अन्तर्गत मंगलबार हेटौंडामा आयोजित ‘मुख्यमन्त्रीसँग युवा संवाद’ कार्यक्रममा बोल्दै उनले औद्योगिक तथा आर्थिक क्षेत्रमा संघीय सरकारको नियन्त्रणले प्रदेश सरकारलाई नीति निर्माण र कार्यान्वयनमा समस्या भएको बताएका हुन् ।
मुख्यमन्त्री लामाका अनुसार उद्योग, वाणिज्य, आर्थिक विकास तथा उद्यमशीलता जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा प्रदेशको अधिकार सीमित हुँदा प्रदेश सरकारले चाहेजस्तो काम गर्न नसकेको हो । ‘हामीले प्रदेशको विकासका लागि नयाँ नयाँ क्षेत्रमा लगानी बढाउनुपर्ने हो, तर हामीसँग स्रोत सीमित छ,’ उनले भने, ‘सँगसँगै संघको स्वीकृति बिना कुनै काम अघि बढाउन नसक्दा पनि हामीलाई कतिपय अवस्थमा काम गर्न समस्या छ ।’ प्रदेशलाई जिम्मेवारी दिए हेटौँडा सिमेन्ट र कपडा उद्योग नाफामा लैजान सक्ने मुख्यमन्त्री लामाको दावी उनले हेटौँडा सिमेन्ट उद्योग र कपडा उद्योगको उदाहरण दिँदै ती उद्योगहरूको स्वामित्व प्रदेशलाई दिइए नाफामा चलाएर देखाउन सक्ने दावी गरे । ‘प्रदेश सरकारलाई ती उद्योग दिइयो भने दुई वर्षमै नाफामा लैजान सक्छौं । हामीले अध्ययन अनुगमन गरिसकेका छौं,’ मुख्यमन्त्री लामाले भने ।
उनले संघीय सरकारको केन्द्रीय मानसिकताले प्रदेश सरकारको माग अस्वीकार गर्दै आएको आरोप समेत लगाए । ‘पुँजीको अभावले संघ अन्तर्गतका उद्योगहरू रुग्ण अवस्थामा पुगेका छन्। तर, प्रदेशमा उपलब्ध जनशक्ति र स्रोतको भरमा ती उद्योगलाई पुनः सञ्चालन गर्न सक्ने क्षमता हुँदा हँुदै पनि हामीसँग अधिकार भने छैन,’ उनले संघीय सरकारप्रति आक्रोस व्यक्त गरे ।
उनले स्थानीय उत्पादन प्रयोग गरी कपडा उद्योग सञ्चालन गर्ने नीति ल्याउन सकिने बताउँदै युवालाई विदेश पलायन हुन नदिने गरी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति र योजना बनाइँदै गरेको जानकारी गराए । विज्ञान, प्रविधि र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै सिपमूलक तालिम र बीउ पुँजीको व्यवस्था प्रदेश सरकारको प्राथमिकतामा रहेको उनको भनाई छ ।
युवालाई कृषि क्षेत्रमा प्रोत्साहन गर्नु जरुरी रहेको बताउँदै उनले तालिम प्राप्त युवालाई उद्यमशील बनाउन बागमती प्रदेस सरकारले बीउ पूँजीको व्यवस्था गरिएको जानकारी गराए ।
बजेट अभावका कारण केही युवा लक्षित कार्यक्रम अघि बढ्न नसकेको स्वीकार गर्दै मुख्यमन्त्री लामाले कार्यान्वयन पक्षलाई प्रभावकारी ढंगबाट लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
उनले युवालाई नकारात्मक सोच नराखी सकारात्मक ऊर्जा लिएर देश निर्माणमा लगाउन आग्रह गरे ।
यसैबीच १० बुँदेघोषणा पत्र जारी गर्दै २८ बैशाखबाट सुरु भएको तीन दिने बागमती प्रदेश युवा सम्मेलन मंगलबारबाट सकिएको छ । विभिन्न ६ शिर्षकमा प्यानल छलफल गरी सम्मेलनमा उठेका विषयहरुबाट १० बुँदा घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो ।

मंगलबारसम्म चलेको सम्मेलनमा शिक्षा, सिप, उद्यामशीलता र नीति नेतृत्वको विषयमा बहस भएको थियो । ‘सिर्जनशीलता र उद्यमशिलता प्रवद्र्धनः बागमतीमा युवा शसक्तिकरण’ भन्ने मुल नारासहित हेटौँडामा भएको सम्मेलनमा कृषिमा नवप्रर्वतन र युवा संलग्नता सम्भावना र चुनौती, डिजिटल शुसासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरुसहित प्यालन छलफल गरिएको थियो ।