२०८१, ७ बैशाख शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरानमा जनप्रतिनिधिको टकराव : हर्क साम्पाङले वडाध्यक्षको राजीनामा मागे



विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कर्तव्य पूरा नगरेको भन्दै केही वडाध्यक्षहरूलाई राजीनामा दिन चेतावनी दिएका छन् ।
शुक्रबार एक निर्देशनात्मक विज्ञप्ति जारी गर्दै उनले वडाध्यक्षहरूले पार्टीको ह्वीपलाई जनताको हितभन्दा ठूलो मानेर विकासे बैठकहरू वहिष्कार गरेको भन्दै खेद जनाएका छन् ।

बैठकमा आउन आग्रह गर्दै उनले लेखेका छन्, ‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो । यो कसैको अधिकार, रहर या चाहनाको कुरा होइन यो वाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउन चाहन्छु । कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’

उनले धरानका वडाहरूमा भएका कामको विवरण पनि सार्वजनिक गर्न वडाअध्यक्षहरुलाई निर्देशन दिएका छन् । विज्ञप्ति जारी गर्दै वडामा भएको प्रगति र कामका बारेमा आफूलाई समेत थाहा नभएकाले यसको जानकारी दिन भनेका हुन् ।

धरान उपमहानगरमा लामो समयदेखि कार्यपालिका बैठक बस्न सकेको छैन । कार्यपालिका बैठक नबस्दा आफू र नागरिकले वडामा भएको कामको बारेमा जानकारी नभएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन् ।

‘विगत केही महिना देखि विना कुनै खास कारण पटक-पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनु पर्ने अधिकारमाथि खेलबाड गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेको अवस्था अवगत गराउन यो विज्ञप्ति जारी गर्न बाध्य भएको छु’, साम्पाङले भनेका छन् ।

उनले लेखेका छन्, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ (कार्य विभाजन र कार्य सम्पादन) को उपधारा ४ क (नगर प्रमुखको काम कर्तव्य र अधिकार) को ६ मा प्राप्त कार्यपालिकाको कामलाई रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकारलाई प्रयोग गर्दै जनताको गरिमामय कार्यपालिका बैठकमा असभ्य, अशिष्ट र अमर्यादित भाषा शैली प्रयोग गर्ने भाँडभैलो मच्चाउनेलाई स्पष्टीकरण माग्दा अन्यथा मान्नु पर्ने कुनै कारण छैन साथै धरान उपमहानगरपालिकाको बैठक सञ्चालन कार्यविधि २०७४ को धारा १४ को उपधारा १ को बैठकलाई सुव्यवस्थित गर्ने अधिकार प्रयोग गरेको हुँ ।’

मेयर साम्पाङले समन्वय र सहमतिविना आफूखुसी काम गरेको । बैठकमा कसैलाई आफ्ना कुरा राख्न नदिएको भन्दै एक महिनाभन्दा बढी समयदेखि वडाध्यक्षहरू आन्दोलित छन् । स्वकीय सचिवले निर्देशनात्मक पत्र पठाएको भन्दै चैत पहिलो साता वडा अध्यक्षसहित २८ जना कार्यपालिका सदस्यले मेयरलाई माफी माग्न अल्टिमेटम दिएका थिए ।

केही वडाध्यक्षहरूले हातमा कालोपट्टी बाँधेर मेयरको विरोध गरेका थिए ।

प्रकाशित मिति : २०८०, ७ बैशाख बिहीबार ००:००  ७ : १९ बजे